लकडाउनमा बालबालिकाले बनाए आचारसंहिता

लकडाउनमा बालबालिकाले बनाए आचारसंहिता

दैलेख वैशाख २९ गते । कोरोना भाइरसको संक्रमणबाट बचाउन दैलेखका बालबालिकाले घरमै आचारसंहिता बनाएका छन् । जिल्लाको गुराँस गाउँपालिका–४ घोडाबासका बालबालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा सर्तकताका लागि घरमै आचारसंहिता निर्माण गरेका हुन् । यहाँको सुनगाभा बाल क्लबका बालबालिकाहरुले आ–आफ्नो घरमा आचारसंहिता बनाएका हुन् । लकडाउनको समयमा घरमै आचारसंहिता निर्माण गरेर पालना गरिरहेको गुराँस गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत जेनिसा मल्लले बताइन् ।
बालबालिकाले बनाएको आचारसंहितामा लकडाउनको समयमा गर्नुपर्ने र गर्न नहुने कामहरु उल्लेख गरिएको छ । आचारसंहितामा विहान साढे पाँच बजे उठ्ने, कोरोना भाइरसबाट बच्नका लागि मिचिमिचि हात धुने, नियमित रुपमा मास्कको प्रयोग गर्ने, हाछ्यु गर्दा वा खोक्दा सफा रुमालले नाक मुख छोप्ने, लकडाउनको नियम पालना गर्ने, उमालेको पानी खाने र घर वरपर सफा राख्ने, घरमा अभिभावकलाई काममा सघाउने, विद्यालय सञ्चालन नभएपनि घरमै बसेर नियमित रुपमा पढ्ने, चित्र बनाउने, आफु भन्दा साना भाईबहिनीहरुलाई सिकाउने, नजानेका कुराहरु आफु भन्दा ठुलासँग सोध्ने तथा दैनिक व्यायम गर्ने उल्लेख छ ।
यस्तै गर्न नहुने कामहरुमा भेला नगर्ने, भीडभाडमा नजाने, लागु पदार्थ सेवक नगर्ने र नगराउने, आफु अरु कसैको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा आउन नदिने, बाल हिंसा, दुव्र्यवहार र बाल विवाह नगर्ने उल्लेख छ । बाल हिंसा दुव्र्यवहार तथा बाल विवाह गरेको थाहा पाए बाल हेल्पलाइन १०९८ मा खबर गर्ने आचारसंहितामा उल्लेख छ । घरमा बनाएको आचारसंहिता परिवारका सबै सदस्यले पालना गर्न प्रेरित गरिरहेको बालबालिकाले बताएका छन् ।
बालबालिकाले स्वास्थ्य, सरसफाई, शिक्षा लगायतका विषयलाई समावेश गरी आचारसंहिता निर्माण गर्न सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजनाबाट सहजिकरण गरिरहेको परियोजनाका फिल्ड अधिकृत लक्ष्मी चलाउनेले बताइन् ।

फाेटाेफिचर

प्रतिक्रिया