थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौँ जेठ ३ गते । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७३ पुगेको हो  । शनिबार संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, सिरहा सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा वीरगन्ज-१२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवन गढौली-१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । सिरहामा भने पहिलो पटक संक्रमित भेटिएको हो । योसँगै तराईका २१ मध्ये १९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । तराईका मोरङ र सुनसरीमा मात्रै अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन ।

हालसम्म पर्सामा ९१, कपिलवस्तुमा ३९, बाँकेमा ३३, उदयपुरमा ३३, रुपन्देहीमा २८, काठमाडौंमा ९, कैलालीमा ४, रौतहट, बारा, धनुषा, दाङ र सर्लाही मा ३/३ तथा बागलुङ, झापा, महोत्तरी, भक्तपुर र बर्दियामा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, कञ्चनपुर र नवलपरासी पश्चिम, नवलपरासी पूर्व, मकवानपुर र सप्तरी र सिरहामा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३६ जना निको भएका छन् ।

प्रतिक्रिया