संक्रमितको संख्या ५८४ पुग्यो

संक्रमितको संख्या ५८४ पुग्यो

सुर्खेतमा दुई पुरुष र एक महिलाको पीसीआर रिपोर्टसमेत पोजिटिभ

काठमाडौं जेठ १० गते । शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो। शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो। 

संक्रमण पुष्टि हुनेमा  सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चारजना छन्। आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको हो। त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। 

सँगै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको छ। नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका  १५ जनाको रिपाेर्ट पोजिटिभ देखिएको छ। उनीहरु १६ देखि ३२ वर्षका पुरुष हुन्। नरैनापुर बाँकेकै ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरु २२ देखि ५० वर्षका पुरुष छन्।  बर्दियाका  एकजना १९ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरी सुर्खेतमा दुई पुरुष र एक महिलाको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको छ।

शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो। टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो।

त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ।  रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। सँगै भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो। 

मन्त्रालयका अनुसार  संक्रमितको संख्या पुरुष ५०५ र महिला ७९ गरेर कुल ५८४ पुगेको छ। ७० जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ।

प्रतिक्रिया