अब सुर्खेतकै पीसीआर नतिजा अन्तिम, नेपालगञ्ज पठाउन नपर्ने

अब सुर्खेतकै पीसीआर नतिजा अन्तिम, नेपालगञ्ज पठाउन नपर्ने

सुर्खेत जेठ १२ गते । अब कर्णालीबाटै कोरोना (कोभिड–१९) संक्रमणको पुष्टि हुने भएको छ । यसअघि सुर्खेतस्थित प्रयोगशालामा कोरोना पोजिटिभ देखिएकाको नेपालगञ्ज पठाएर पुनःपरीक्षण गर्ने गरिएको थियो । तर अब भने कर्णाली प्रदेशमा गरिएको कोरोना परीक्षण नै अन्तिम परीक्षण हुने भएको छ । नेपालगञ्ज पठाउनुपर्ने छैन ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. के एन पौडेलका अनुसार सुरुवातमा कम्तीमा पनि ५ वटा पोजेटिभ केस परीक्षणलाई पुनःपरीक्षण गर्नुपर्ने प्रोटकल अनुसार नेपालगञ्ज पठाउने गरिएको थियो । जसअनुसार तीन पटक गरेर ९ जनाको नेपालगञ्जबाट पुनःपरीक्षण गरेर पुष्टि गरिएको थियो । अब सुर्खेतस्थित पीसीआर मेसिनले आधिकारिता पाएको छ । ‘यद्यपी अहिलेसम्म केन्द्रबाट अधिकार त दिएको छैन’, उनले भने ‘औपचारिक आदेश आउन बाँकी छ ।’

पत्र आउन बाँकी भएपनि अब कर्णाली प्रदेशमा गरिने सबै पीसीआर परीक्षणको नतिजा नै अन्तिम नतिजा हुने उनले बताए । जसअनुसार कर्णालीमा भेटिएका पछिल्ला दुई जना संक्रमितको पुष्टि सुर्खेतबाटै गरिएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया