लकडाउन जेठ ३२ गतेसम्म गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

लकडाउन जेठ ३२ गतेसम्म गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं जेठ १७ गते । मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले  जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका खतिवडाका अनुसार सरकारले विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । 

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन सिफारिस गर्ने निर्णय गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो । 

शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ। सात जनाको मृत्यु भइसकेको छ भने २१९ जनाले कोरोनालाई जितेका छन् । 

प्रतिक्रिया