भैरबी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथी आक्रमण

भैरबी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथी आक्रमण

आक्रमणमा परेका भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापा सहित स्वास्थ्यकर्मीहरु

दैलेख जेठ २१ गते । जिल्लाको भैरबी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापामाथी बुधवार आक्रमण भएको छ । भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले अधिकृत थापामाथी आक्रमण गरेका हुन् । उनिहरुले अधिकृत थापा सहित भैरबी गाउँपालिकाका–४ का वडाध्यक्ष वीरेन्द्र शाही, क्वारेन्टाइनमा बसेकाहरुको कोरोना परिक्षणका लागि खटिएका स्वास्थ्यकर्मीमाथी आक्रमण गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको भवन देखि २ सय मिटरको दुरीमा रहेको ब्राइट फ्युचर बोडिङ स्कुलमा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुले आक्रमण गरेका हुन् ।
बुधवार क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो । आरडीटी परीक्षणमा एन्टीबडी नेगेटिभ देखिएकाहरुलाई घर पठाउन खोज्दा आक्रमण भएको गाउँपालिकाका एक कर्मचारीले बताए । घर पठाउन तयारी गरिरहेको बेला गाउँपालिकाको स्टोर हेर्न पाउनु पर्ने माग राख्दै करिब ४६ जनाको समुह आन्दोलनमा उत्रिएका थिए । उनिहरुले गाउँपालिकाको स्टोर हेर्न पाउनुपर्ने भन्दै ढुंगामुढा समेत गरेका थिए । आक्रमणबाट प्रमुख प्रशासकीय अधिकृत थापा घाइते भएका छन् । थापाको छात्ती, टाउको, निधार र गालामा चोक लागेको छ ।
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिईएको छ । घटनाको सत्यतथ्य छानवीन गरि दोषिलाई कानुनी कारबाहीको दायरामा ल्याउने जल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) हरिबहादुर ओलीले बताए ।

प्रतिक्रिया