‘पढाई कुना’ स्थापना गरेर घरमै पढाई सञ्चालन

‘पढाई कुना’ स्थापना गरेर घरमै पढाई सञ्चालन

आफ्ना बालबालिकालाई पढाउँदै अभिभावक ।

दैलेख जेठ २५ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर चैत्र दोस्रो साता देखि गरिएको लकडाउन हालसम्म पनि कायम छ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिनासम्म पनि विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । हाल सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ । तत्काल विद्यालय खुल्ने सम्भावना कम छ । विद्यार्थीहरुमा विद्यालयमा गई पढ्ने चाहाना भएपनि विद्यालयहरु बन्द छन् । अधिकाँश विद्यार्थीहरुको समय घरमै बितिरहेको छ ।
विद्यार्थीहरु स्कुल जान नपाईरहेको अवस्थामा गुराँस गाउँपालिका–४ का चिसापानी, रिट्ठा, घोडाबास टोलहरुमा घरमै विद्यालय सञ्चालन गरिएको छ । यहाँका ५६ घरधुरीमा ‘पढाई कुना’ स्थापना गरि घरमै विद्यालय सञ्चालन गरिएको हो । उक्त घरधुरीका अभिभावकहरुले आफ्ना घरका सबै बालबालिकाहरुलाई दैनिक कार्यतालिका निर्माण गरेर पढाउँदै आएका छन् । बाल कल्याण नमुना प्रावीका शिक्षकहरुले पालैपालो घर–घरमा पुगेर बालबालिकाहरुलाई पढाईमा सहजिकरण गर्दै आएका छन् ।

‘हामीले शिक्षकहरुलाई टोलको जिम्मा दिएका छौ,’ प्रधानाध्यापक प्रेमबहादुर बिसीले भने ‘सबै शिक्षकहरुले आफुले जिम्मा पाएको टोलका घरघरमा पुगेर दुरी कायम गर्दै बालबालिकालाई पढाई र सिकाईमा सहजिकरण गरिरहनुभएको छ ।’ लकडाउनले विद्यालय बन्द भएपछि बालबालिकाहरुमा पढ्ने बानी हराउने, पढाई बिग्रने चिन्ता लिईरहेका अभिभावकहरु अहिले खुसी भएका छन् ।


लामो समयको पठनपाठन अवरुद्धले विद्यार्थीमा पढ्ने बानी हराउने भन्दै चिन्तित बनेका अभिभावक घरमै पढाई सञ्चालन भएपछि दंग देखिन्छन् । ‘बालबालिका आफै दैनिक कार्यतालिका निर्माण गरेर पालना गर्छन्,’ अभिभावक ललिता शाही भन्छिन् ‘शिक्षकहरु घरमै आएर सहजिकरण गर्दा थप सहज भएको छ ।’ उक्त वडामा सेभ द चिल्ड्रेन र सोसेकको साझेदारीमा सहयात्रा दोस्रो परियोजना सञ्चालित छ । ५६ घरधुरीका माथिल्लो तह अध्ययन गरेका अभिभावकहरुलाई ‘गृह शिक्षक’ को रुपमा तोकिएको परियोजनाका फिल्ड अधिकृत लक्ष्मी चलाउनेले बताइन् ।

प्रतिक्रिया