दैलेख कर्णाली प्रदेशको कोरोना ‘इपीसेन्टर’ बन्दै, ९ स्थानीय तहमा देखियो कोरोना

दैलेख कर्णाली प्रदेशको कोरोना ‘इपीसेन्टर’ बन्दै, ९ स्थानीय तहमा देखियो कोरोना

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २५ गते ।
मजदुरीका लागि भारत गएका नेपाली फर्किएसँगै दैलेखमा कोरोना भाइरस संक्रमितको संख्या कर्णाली प्रदेशमै उच्च पुगेको छ । हरेक दिन नयाँ कोरोना संक्रमित थपिन थालेपछि दैलेख कर्णाली प्रदेशको कोरोना ‘इपीसेन्टर’ बन्दै गएको छ ।  

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार दैलेखमा पछिल्लो तीन दिनमा १ सय ४० जना थप संक्रमित पुष्टि भएको हो । शुक्रबार ९१, शनिबार ४६ र आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । शनिबार दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–४ का ११ वर्षीय पुरुष, भैरबी गाउँपालिका–३ का १७ वर्षीय, वडा नम्बर ५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जनाए ।  योसँगै दैलेखमा कोरोना भाइरस संक्रमितको सख्या ३ सय ५७ पुगेको छ । 

दैलेखका कोरोना संक्रमितलाई राखिएको सरस्वती माध्यामिक विद्यालय। यो विद्यालयलाई हाल आइसोलेसन अस्पतालको रुपमा प्रयोग गरिएको छ । तस्बिर : हिक्मतबहादुर नेपाली ।

गत जेठ ५ गते कर्णाली प्रदेशमै पहिलो संक्रमित देखिएको दैलेखमा तीन साता नबित्दै कोरोना संक्रमितको संख्या साढे तीन सय नाघेको हो । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार दैलेखमा जेठ ५ गते एक, १३ गते सात, १५ गते आठ, १७ गते १५, १८ गते १७, १९ गते ४९, २१ गते सात, २२ गते एक सय १३, २३ गते ९१, २४ गते ४६ र २५ गते तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखका ९ स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । संक्रमितमध्ये नारायण नगरपालिकामा मात्रै एक सय ९४ जना छन् । महाबुमा पाँच महिने शिशुसहित एक सय ८ जना, गुराँसका दुई, डुङ्गेश्वरका तीन, भैरबीका दुई र नौमूले गाउँपालिकाका सात जना छन् । यस्तै दुल्लुका ३९, आठबीसका एक र चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ जना छन् । 

संक्रमितमध्ये ३४ जना दैलेख अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए । अन्य संक्रमितहरु स्थानीय तहको आइसोलेसनमा छन् ।स्थानीय तहहरुले क्वारेन्टाइनलाई आइसोलेसनको रुपमा प्रयोग गरिरहेका छन् ।

कर्णालीका ९ जिल्लामा देखियो कोरोना 

आइतबारसम्म कर्णालीका ९ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुकुम पश्चिममा हालसम्म कोरोना संक्रमित भेटिएको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा तीन सय ५७, सल्याममा एक सय १९, सुर्खेतमा ९१, कालिकोटमा २८, जुम्लामा २२, जाजरकोटमा ५, हुम्ला र डोल्पामा एक-एक, मुगुमा २ जनामा कोरोना संक्रमण देखिएको हो । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ४१ छ । तीमध्ये सुदुरपश्चिम प्रदेशको अछामका १०, बझाङ, बाजुरा, दोलखा, रामेछाप र गोरखाका एक-एक जना छन् । 

प्रतिक्रिया