आइडिया नेपालद्धारा नारायण नगरपालिकालाई फिटिङसहितको १० वटा शौचालय हस्तान्तरण

आइडिया नेपालद्धारा नारायण नगरपालिकालाई फिटिङसहितको १० वटा शौचालय हस्तान्तरण

हिक्मतबहादुर नेपाली
दैलेख जेठ २७ गते ।
दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ६१ जना पुगेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार संक्रमितमध्ये १ सय ९४ जना एउटै नगरपालिकाका हुन् । नारायण नगरपालिकामा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिकामा ३९ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीनजना निको भएर डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भइसकेको छ।

आठबीसमा २, चामुण्डाविन्द्रासैनी नगरमा १ जना संक्रमित छन् । त्यसैगरी महाबुमा १ सय ८, भैरबीमा २, गुराँसमा २, नौमूलेमा १०, र डुङ्गेश्वर गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ । डुङ्गेश्वर गाउँपालिकाका ३ मध्ये एक जना निको भएर डिस्चार्ज भएका छन् ।संक्रमितको संख्या ह्वात्तै बढेसँगै स्थानीय तहहरुले विकल्पको खोजी गर्दै सामुदायिक विद्यालय र क्याम्पसमा आइसोलेसन निर्माण गरेका हुन् । मजदुरीका लागि भारत गएकाहरु धमाधम फर्किन थालेपछि उनीहरुलाई राख्न यसअघि विद्यालय र क्याम्पसमा बनाइएको क्वारेन्टाइनलाई आइसोलेसन बनाउने विकल्प खोजिएको हो ।

महाबु गाउँपालिकाका १ सय ७ जना कोरोना संक्रमितलाई गाउँपालिकाले विभिन्न वडामा रहेका ४ वटा सामुदायिक विद्यालय भवनमा निर्माण गरेको आइसोलेसनमा राखिएको अध्यक्ष जंगबहादुर शाहीले बताए । भारतबाट आएकामा धमाधम कोरोना संक्रमण देखिन थालेपछि विद्यालय र क्याम्पसलाई आइसोलेसन बार्ड बनाइएको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताए।सरस्वती मावी तर्ताङमा दैलेख अस्पतालको आइसोलेसन बार्ड बनाईएको छ । यस्तै नारायण क्याम्पस, त्रिभुवन मावी, सरस्वती बृद्धाआश्रमलाई आइसोलेसनको रुपमा प्रयोग गरिएको मेयर खड्काले बताए । ती आइसोलेसनमा शंकास्पदसहित संक्रमितहरुको उपचार भईरहेको उनले बताए ।

आइसोलेसन रहेका विद्यालय र क्याम्पसमा शौचालय बन्ने

आइसोलेसन बनाइएको विद्यालय र क्याम्पसमा स्थानमा बसाई व्यवस्थापनसँगै पर्याप्त शौचालय, खानेपानी, सरससफाई सामग्री अभाव देखिएको छ । अभाव भएको स्थानमा नारायण नगरपालिकाले शौचालय बनाउने भएको छ । शौचालय निर्माणका लागि आवश्यक सामग्रीहरु मंगलवार हस्तान्तरण गरिएको छ । सुर्खेतको विकास सशक्तिकरण र सचेतनाका लागि लगानी आइडिया नेपाल नामक संस्थाले फिटिङसहितको १० वटा शौचालय नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

झण्डै ५ लाख रुपैयाँ खर्चेर फिटिङसहितको शौचालय सहयोग गरिएको संस्थाका सचिव राजकुमार विकले बताए । आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुलाई लक्षित गरेर शौचालय निर्माणका लागि आवश्यक सामग्रीहरु सहयोग गरिएको सचिव विकले बताए ।

नगरका मेयर रत्नबहादुर खड्काले शौचालय अभाव रहेका स्कुल र क्याम्पसका आइसोलेसनमा जडान गरिने बताए । ‘यो महामारीमा लड्न सरकारको एक्लो प्रयासले मात्रै पुग्दैन्, हामीले अपिल गरेअनुसार नै संस्थाले सहयोग गरेको छ,’ मेयर खड्काले भने, ‘आइसोलेसन बनाइएको नारायण आधारभुत विद्यालय, सरस्वती मावी,सरस्वती विद्धाआश्रम लगाएतका स्थानमा शौचालय जडान गरिनेछ ।’

प्रतिक्रिया