दैलेखमा कोरोना संक्रमितको संख्या ४७२ पुग्यो, २७ जनाले जीते कोरोना

दैलेखमा कोरोना संक्रमितको संख्या ४७२ पुग्यो, २७ जनाले जीते कोरोना

हिक्मतबहादुर नेपाली
दैलेख जेठ ३० गते ।
दैलेखमा कोरोना संक्रमितको संख्या चार सय ७२ पुगेको छ । शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ३४ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दुल्लु नगरपालिकामा २८, भैरबी गाउँपालिकामा ७ र ठाटीकाँध गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको हो ।

भैरबी गाउँपालिका वडा नम्बर २ मा एक, ३ मा दुई, ४ मा दुई, ५ मा दुई जना, ठाटीकाँध गाउँपालिका वडा नम्बर १ मा एक, २ मा एक र ५ मा एक जनामा कोरोना संक्रमण देखिएको डा. तिवारीले बताए । यस्तै दुल्लु अस्पतालका एक जना महिला, दुल्लु नगरपालिका वडा नम्बर २ मा एक, ४ मा पाँच, ५ मा पाँच, ८ मा तीन, ९ मा दुई, १० मा दुई, ११ मा दुई, १२ मा दुई र १३ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो सहित दैलेखका ११ वटै स्थानीय तहमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये नारायणका एक सय ९४, दुल्लुका ६७, चामुण्डाविन्द्रासैनीका एक र आठबीस नगरपालिकाका दुई जना छन् । यस्तै डुङ्गेश्वरका ६७, महाबुका एक सय ८, भैरबीका नौ, गुराँसका दुई, भगवतीमाईका नौ, नौमूलेका १० र ठाटीकाँध गाउँपालिकाका तीनजना छन् । 

दैलेखमा कोरोना संक्रमण दोस्रो चरणमा

दैलेखमा कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ।स्वास्थ्य सेवा कार्यालयका अनुसार भारतबाट आएका व्यक्तिमार्फत स्थानीय व्यक्तिमा संक्रमण फैलिएकाले जिल्लामा दोस्रो चरणमा कोरोना संक्रमण प्रवेश भएको स्वास्थ्य सेवा कार्यालयका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए।उनका अनुसार हालसम्म पीसीआर परीक्षणमा स्थानीय दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

‘आरडीटी पोजिटिभ देखिनुभएका स्वास्थ्यकर्मी पनि हुनुहुन्छ,’ रेग्मीले भने ।डुङ्गेश्वर गाउँपालिकाका एकजना स्थानीय व्यक्तिमा समेत कोरोना संक्रमण देखिएको रेग्मीले बताए ।

२७ जनाले जीते कोरोना
दैलेखका २७ जनाले कोरोना जितेका छन् । कर्णालीका पहिलो संक्रमित सहित २७ जनाले कोरोना जितेका हुन् ।  कर्णाली प्रदेशका पहिलो संक्रमित आठबीस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय युवा बिहीबार डिस्चार्ज भएका थिए । 

कर्णाली प्रदेश अस्पतालको कोरोना विशेश अस्पताल सुर्खेतमा उपचाररत ती युवा निको भएर डिस्चार्ज भएका हुन् । शुक्रबार बिहान नारायण नगरपालिकाका २२ जना कोरोना जीतेर घर फर्किएका छन् भने डुङ्गेश्वर गाउँपालिकाका एकजना र दुल्लु नगरपालिकाका तीनजना कोरोना जीतेर यसअघि डिस्चार्ज भइसकेका छन् । दुल्लु नगरपालिकाका एक युवाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । 

प्रतिक्रिया