लकडाउन अवधिमा हिंसामा परेका महिलाहरुलाई उजुरी दिन समस्या

लकडाउन अवधिमा हिंसामा परेका महिलाहरुलाई उजुरी दिन समस्या

दैलेख असार १० गते ।
दैलेखको भैरबी गाउँपालिका–५ का महिला तथा बालबालिकाहरुले हिंसामा परेका महिला तथा बालबालिकाहरुले लकडाउनका कारण उजुरी दिन समस्या भएको गुनासो गरेका छन् । यहाँ गठित महिला समुह र बाल क्लबका सदस्यहरुबीच कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा महिला तथा बालबालिका माथी पारेको असरबारे गरिएको अन्तरक्रियामा उनिहरुले यस्तो गुनासो गरेका हुन् ।
एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाको सहजिकरणमा भएको लैंगिक विभेद र हिंसाको जोखिम तथा रोकथामका उपाएबारे गरिएको अन्तरक्रियामा बन्दाबन्दीको समयमा थुप्रै महिला हिंसाका घटनाहरु घटिरहेको उनिहरुले बताएका छन् । शारीरिक तथा मानसिक हिंसा, गौली गलौज, बहुविवाह, बलात्कार जस्ता घटनामा न्याय पाउन मुस्किल परिरहेको उनिहरुले बताएका छन् । कोरोनाका कारण घरमै बस्नुपर्ने र न्यायिक निकायहरु समेत बन्द रहँदा झनै समस्या परेको उनिहरुको भनाई छ ।
यस्तै प्रजनन् स्वास्थ्य समस्याबारे औषधी उपचार र स्वास्थ्यकर्मीहरुले चासो नदिँदा समस्या बढेको स्थानीय महिलाहरुको भनाई छ । महिला बालबालिकामा कामको बोझ बढेको हुँदा यसैमा आधारित रहेर घरेलु हिंसा न्यूनिकरणका लागि बालबालिकाहरुले घरघरमा आचारसंहिता र पढाई कुना निर्माण गरेका छन् । महिला बालबालिकाहरुको समस्या समाधानका लागि महिला समुह र बाल क्लबका सदस्यहरु एकजुट हुने प्रतिबद्धता जनाएको परियोजनाका सामाजिक परिचालक निर्मला नेपालीले बताइन् ।

प्रतिक्रिया