आत्महत्यापछि कोरोना पुष्टि भएका युवकको अन्त्येष्टि

आत्महत्यापछि कोरोना पुष्टि भएका युवकको अन्त्येष्टि

दैलेख असार १३ : आत्महत्यापछि कोरोना संक्रमण देखिएका व्यक्तिको अन्त्येष्टि गरिएको छ। जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका थिए। बिहीबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। ती युवकको शव शुक्रबार बिहान व्यवस्थापन गरिएको हो। नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको शव व्यवस्थापन टोलीले अन्तिम सम्मानसहित अन्त्येष्टि गरेको हो।

दुल्लु नगरपालिका–५ सिद्धस्थलीको जंगलमा शव व्यवस्थापन गरिएको गुल्मका सेनानी गणेशराज पन्तले जानकारी दिए। ‘परिवारको सहमतिमा दुल्लु नगरपालिका र अस्पतालको समन्वयमा शव व्यवस्थापन गरिएको हो,’ सेनानी पन्तले भने, ‘व्यक्तिगत सुरक्षालाई उच्च सतकर्ता अपनाई शव व्यवस्थापन गरिएको छ।’ 

कोरोना भाइरस संक्रमित व्यक्तिको मृत्यु भएमा दाहसंस्कार एवं अन्त्येष्टि गर्न नेपाली सेनाले शव व्यवस्थापन टोली तयारी अवस्थामा राखिएको सेनानी गणेशराज पन्तले बताए। ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आइपुगेको थिए। भारतबाट फर्र्किएका युवक पञ्चकोशी मावि गमौडीमा स्थित क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडीटी विधिबाट गरिएको परिक्षणमा नेगेटिभ आएपछि जेठ २५ गते घर पठाइएको थियो। 

क्वारेन्टाइनबाट फर्किएको १६ दिनपछि मंगलबार झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको थियो। आत्महत्यापछि ती युवकको कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पतालस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पठाइएको दुल्लु अस्पताल स्रोतले जनाएको छ। प्रगोशालामा गरिएको परिक्षणमा युवकमा कोरोना पोजिटिभ देखिएको थियो। 

प्रतिक्रिया