दैलेखमा ६५० जनाले जिते कोरोना, आइसोलेसनमा अब ११७ जना मात्रै

दैलेखमा ६५० जनाले जिते कोरोना, आइसोलेसनमा अब ११७ जना मात्रै

हिक्मतबहादुर नेपाली
दैलेख असार १६ गते ।
दैलेखका साढे ६ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । मंगलबारसम्म ६ सय ५० जना कोरोना संक्रमित घर फर्किएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ४४ जना महिला र ६ सय ६ जना कोरोना संक्रमित पुरुष डिस्चार्ज भएका हुन् । अब जिल्लाका ११ वटै स्थानीय तहमा गरी १ सय १७ जना मात्रै कोरोना संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड-१९ फोकल पर्सन थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिकाका २ सय २७ जना कोरोना संक्रमितमध्ये २ सय २३ जना डिस्चार्ज भएका छन् ।यस्तै दुल्लु नगरपालिकाका ८९ मध्ये ४१, ठाटीकाँध गाउँपालिकाका ४ मध्ये एक, भैरबी गाउँपालिकाका १७ मध्ये ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । त्यसैगरी महाबु गाउँपालिकाका १ सय ६५ मध्ये १ सय ६३ जना, नौमूले गाउँपालिकाका १ सय ४६ मध्ये १ सय ३९, भगवतीमाई गाउँपालिकाका १४ मध्ये ४, डुङ्गेश्वर गाउँपालिकाका ७० मध्ये ६६, गुराँस गाउँपालिकाका ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।

डिस्चार्ज हुनेमा बालकदेखि वृद्धसम्म छन् ।डिस्चार्ज भएकामध्ये अधिकांशलाई दोस्रो पटक परीक्षण नगरेरै घर पठाइएको हो । दुई हप्ता बढी आइसोलेसनमा बसेका संक्रमितलाई बिनापरीक्षण घर पठाइएको हो । कोरोनाका लक्षण नदेखिएका र बिरामी नभएका संक्रमितलाई परीक्षण नगरी छाड्ने गरिएको हो । परीक्षण नगरी पठाइएका संक्रमित गाउँ गएपछि त्रास बढेको छ । कोरोनाका रेडजोनमा रहेका दैलेखका स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसन सेन्टर धमाधम खाली भइरहेका छन् । यहाँका स्थानीय तहका अधिकांश क्वारेन्टाइन रित्तिइसकेका छन् । 

प्रतिक्रिया