नेविसंघलाई देउवाको प्रश्‍न : लाज पनि छैन, कहाँ छ संगठन ?

नेविसंघलाई देउवाको प्रश्‍न : लाज पनि छैन, कहाँ छ संगठन ?

काठमाडौँ असार १९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् ।

गाउँगाउँमा, स्कुल–स्कुलमा संगठन विस्तार नगरी काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै उनले नेतृत्वप्रति आक्रोश व्यक्त गरे । अहिले कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघसँग नभएको उनले बताए । पहिला गाउँ र स्कुलमा गएर संगठन विस्तार गरेर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्यै छ नेविसंघ लाज पनि छैन ।’

आफ्नो पालामा देशैभरि नेविसंघ रहेको उल्लेख गर्दै उनले भने, ‘हामीले सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन् । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने ।’

नेविसंघले संगठन विस्तारमा ध्यान नदिएकै कारणले कम्युनिष्टहरुले चुनाव जितेको दाबी गर्दै देउवाले भने, ‘स्कुलमा नेविसंघ बनाउँदै बनाउँदैन् । अनि हारेको हार्यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ ? कसरी जिते कम्युनिष्टहरु ? उनीहरुले गाउँगाउँमा संगठन बनाए । काठमाडौंमा आएर बढ्ता–बढ्ता भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाउ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ अनि मात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

कांग्रेस सभापति देउवाले अहिले नेविसंघभित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने पनि बताए । विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको उनको भनाई थियो । आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोही पनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको देउवाले बताए । उनले भने ‘अहिलेको कुरा केही होइन सबैकुरा मिल्छ । नेविसंघको पूर्णता हुन्छ । नेपाली कांग्रेसको अधिवेशनको काम भइरहको हुन्छ । त्यस कारणले दुई साइडको कुरा हुँदै गर्छ । हाम्रा केही समस्याहरु छन् । बहिर जाँदैन । विद्यार्थीहरु आपसमा मिल्या भए समस्यै हुन्थेन नि । आफूहरु झगडा गर्यागर्यै छन् । म पनि नेविसंघको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ।’

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाज पनि छैन । बोल्दा पनि भ्यालु छैन । कहाँ डिस्ट्यान्सिङ छ यहाँ । त्यसकारणले खतरा हुन गएको छ । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन । सोसल डिस्ट्यान्सिङ गर्नुस् यस्तो टाँसिएर बसेर हुन्छ ?’उनले कहिलेकाहीँ कार्यक्रम नगरे पनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गरे ।

प्रतिक्रिया