बगर बन्यो उर्वर भूमि

बगर बन्यो उर्वर भूमि

बाढीले बगरमा परिणत भएका खेतका फाँट। तस्बिर : हिक्मतबहादुर नेपाली

हिक्मतबहादुर नेपाली
दैलेख असार २१ गते ।

जिल्लाको आठबीस नगरपालिका–१ सात्तलाको सिनेज्यूँलो फाँटको खेतीयोग्य उर्वर भूमि बगरमा परिणत भएको छ। धान उत्पादनका लागि प्रख्यात उक्त ठाउँमा खहरे खोला ९चिनेखोला० बग्छ। लगातारको वर्षातका कारण खोलामा बाढी उर्लिएर उर्वर भूमिमा पसेपछि यस क्षेत्रका खेतका फाँट बगर बनेका हुन्। झण्डै पाँच किलोमिटर क्षेत्रफलमा रहेका खेत अहिले बगर बनेको छ।

आइतबार रातिदेखि परेको अविरल वर्षातका कारण खहरे खोला उर्लिएको छ। खोलाले सयौँ बिघा खेतका फाँट कटान गरेको छ। तीन हजार क्विन्टल धान उत्पादन हुने खेत बगर बनेको स्थानीय महासिंह रावतले बताए। उनका अनुसार अधिकांश किसानले रोपाइँ सकिइसकेका थिए। उनले भने, ‘वर्षभरि खान पुग्ने खेत बगरमा परिणत भयो। यस वर्ष म जस्ता यहाँका सयौं किसानलाई भोकमारीले सताउनेछ।’

स्थानीय डिल्लीप्रसाद उपाध्यायले भर्खरै रोपाइँ गरेको खेतभरि ढुंगा र बालुवा मात्रै देख्दा मन थाम्नै नसकेको बताए। ‘अब कसरी गुजारा चलाउने ? खेतीयोग्य जमिन बगाएपछि पुर्पुरामा हात राखेर बस्नुको विकल्प छैन।’ स्थानीय लालबहादुर थापा पनि १० मुरी धान फल्ने खेत कटान हुँदा निकै दुखी छन्। कृषक वीरबहादुर नेपालीले भने, ‘रोपाइँ सकिएको खेत कुनै निशाना नरहने गरी बगरमा परिणत भयो। राहतका लागि तीनै तहका सरकारसँग अनुरोध छ।’

उनका अनुसार झुझ हुँदै ठाटीकाँध गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडक र मध्यपहाडी राजमार्गबाट झुझ जोड्ने कच्ची सडकको भेलसमेत सोही खेतमा जाँदा जोखिम बढेको थियो। सोही खोलामा आएको बाढीले स्थानीय खोली बजारका सात वटा घरमा पूर्णरूपमा क्षति भएको छ। बाढीले जिल्लाको रामघाट बजारमा पनि क्षति पुर्याएको आठबीस नगरपालिका–१ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताए। उनका अनुसार बाढीले एउटा सिँचाइ कुलो र निर्माणाधीन नहरमा क्षति गरेको छ। खोला नियन्त्रणमा निर्माणाधीन ३० लाखको तटबन्ध बगाएको छ। यस्तै साना सिँचाइअन्तर्गत ३८ लाख र कर्णाली प्रदेश सरकारको ७५ लाख सहयोगमा निर्माणाधीन सिँचाइ कुलोसमेत बगाएको हो।

प्रतिक्रिया