बारेकोट पहिरो अपडेट : पाँचको शव भेटियो, ९ बेपत्ता, दुईको उद्दार

बारेकोट पहिरो अपडेट : पाँचको शव भेटियो, ९ बेपत्ता, दुईको उद्दार

जाजरकोट असार २६ गते । जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको छ । ९ जना बेपत्ता भएका छन् ।  दुईजनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ।  बारेकोट ४ जिरी सार्कीटोलमा बिहीबार राती पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँचजनाको शव फेला परेको छ । 

पहिरोमा परी ५२वर्षीय गोपाल सार्की र उनका ११ वर्षीय छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीयाया डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्कीको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

अर्को एक शवको पहिचान खुल्न नसकेको उनले बताए । पहिरोमा बेपत्ता अन्य सातजनाको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । पहिरोले बारेकोट ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा घरमा आएका पाहुन दुईसहित सातजना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बाढीमा बेपत्ता छन् । 

रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले उद्धार गरेका छन् । रामचन्द्र गम्भीर घाइते भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको उनले बताए । 

त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । बुधबार राती परेको अविरल वर्षाले बारेकोटका विभिन्न बस्ती जोखिममा परेको अध्यक्ष शाहले बताए । पानी परिरहेकोले उद्धारमा कठिनाइ भएको उनको भनाइ छ । घटनास्थल सदरमुकाम खलंगादेखि दुई दिन पैदल दूरीमा २५ कोष उत्तर पूर्वमा पर्छ ।

प्रतिक्रिया