[अपडेट] म्याग्दी बाढीपहिरो : ३५ घर पुरिए, ३३ बेपत्ता

[अपडेट] म्याग्दी बाढीपहिरो : ३५ घर पुरिए, ३३ बेपत्ता

म्याग्दी असार २६ गते । म्याग्दीमा बिहीबार रातिदेखि बाढीपहिरोमा परी ३३ जनाभन्दा बढी बेपत्ता भएका छन् । विभिन्न स्थानमा गरी ३५ घर पुरिएका छन् भने जोखिममा परेका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।  पहिरोले सडक तथा पैदलमार्ग बगाएकाले उद्धारकर्ता घटनास्थल पुग्न सकेका छैनन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार पहिरोमा पुरिएर धौलागिरि गाउँपालिका–६ मराङमा २१, वडा नं ७ ताकममा ३, मालिका गाउँपालिका–७ बिममा विष्णु शर्मा र इच्छा पौडेलसहित ८ जना बेपत्ता छन् । मालिकाकै वडा नं ६ दुखुमा खोलाले बगाएर एक जना बेपत्ता छन् ।त्यसै गरी मराङमा २०, ताकममा ५ र बिममा १० घर पहिरोमा पुरिएका छन् । मालिका गाउँपालिका–४ देवीस्थानमा पनि ५ घरमा पहिरोले क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

बाढीले गलेश्वरस्थित राहुघाट खोलाको बेलिब्रिज बगाउँदा बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । राहुघाट खोलाको बाढीले रघुगंगा–८ मंगले क्षेत्रमा ८ घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । म्याग्दी र राहुघाट खोलाको बाढीले जोखिम बढाएपछि सदरमुकाम बेनीको मंगलाघाटका ७ र रघुगंगा–३ गलेश्वरका २१ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार घर पुरिएका र जोखिममा परेका गरी कुल ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘पहिरोले बस्ती पूरै घेरिएकाले स्थानीय, प्रहरी र सेनाका तीनवटा उद्धार टोली घटनास्थल पुग्ने प्रयास जारी छ । हामी पनि घटनास्थल जाँदै छौं,’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सबै विवरण स्थानीय जनप्रतिनिधिबाट संकलन गरिएका हुन् ।’

प्रतिक्रिया