डीपीआर तयार भइसकेको सिंचाइ योजनाको निर्माण‍स्थल नै परिवर्तन

डीपीआर तयार भइसकेको सिंचाइ योजनाको निर्माण‍स्थल नै परिवर्तन

सिचाइ योजना छनौट भएको स्थान 

हिक्मतबहादुर नेपाली
दैलेख असार २८ गते । दुई वर्षअघि आठबीस नगरपालिका-४ स्थित राकमकर्णाली जाक्सीकोटमा सिंचाइका लागि सम्भाव्यता अध्ययन गर्न कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले २५ हजार रुपैयाँ विनियोजन गर्यो । सम्भाव्यता अध्ययन सकिएपछि योजना निर्माण गर्न सोही मन्त्रालयबाट चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन भयो ।

योजना निर्माणको क्रममा एक लाख ५० हजार रुपैयाँको लागतमा डीपीआर समेत बन्यो । जाक्सी लिफ्टिङ खानेपानी तथा सिचाई योजना निर्माणका लागि एक करोड ३४ लाखको डीपीआर बनेको छ । डीपीआर निर्माणसँगै निर्माण प्रक्रिया अघि बढाइएको उक्त योजनाको स्थल नै अहिले परिवर्तन भएको छ । योजना छनौट भएको क्षेत्रका उपभोक्ताले वडाध्यक्ष रणबहादुर माझीसहितको भेला गराएर नविन माझीको अध्यक्षतामा उपभोक्ता समिति समेत गठन गरेको थियो ।

उक्त उपभोक्ता समितिको निणर्य र अन्य कागजात लिएर खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय पुगेपनि सम्झौता नभएको उपभोक्ता समितिका अध्यक्ष नविन माझीले बताए । ‘कार्यालयका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्लले कागजपत्रमा तोक लगाउनुभयो, तर लकडाउनका कारण सम्झौता हुन सकेन्,’ माझीले भने, ‘लकडाउन खुकुलो भएपछि सम्झौता अगाडि बढाउन खोज्दा यहाँको योजना त अन्तै सारिसकिएको रहेछ ।’

जाक्सीकोटको योजना कुमलखाडा सारेर निर्माणको काम हुँदै । 

आर्थिक चलखेलमा एक ठाउँका लागि भनिएको योजना अन्तै सारिएको स्थानीयले आरोप लगाएका छन् । कर्णाली नदीको पानी सोलार लिफ्टमार्फत सिंचाइका लागि जाक्सीकोटमा ल्याउने गरी निर्माण प्रक्रिया थालिएको उक्त योजना अहिले आठबीस नगरपालिका -३ को कुमलखाडामा सारिएको छ ।

त्यहाँ नयाँ उपभोक्ता समिति गठन गरेर सम्झौता भई निर्माण कार्य अघि बढेको आठबीस नगरपालिका-४ जाक्सीकोटका स्थानीय बताउँछन् । खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालयका निमित्त प्रमुख टोपेन्द्रसुन्दर मल्ल र आठबीस नगरपालिका-३ को कुमलखाडामा नयाँ गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धिरज कार्कीको मिलेमत्तोमा उक्त योजना अघि बढाउन खोजिएको भन्दै आठबीस नगरपालिका-४ स्थित उपभोक्ता समितिले निर्माण कार्य रोक्का गरिदिन माग गर्दै निवेदन दिएको छ । स्थानीयले सिचाई योजना निर्माण कार्य साविक छनौट भएकै स्थानमा निर्माण हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

योजना छनौट भई डीपीआर समेत निर्माण भइसकेको स्थानका उपभोक्तालाई जानकारीबिनै सिंचाइ योजना छनौट स्थलभन्दा फरक स्थानमा योजना निर्माण गर्न खाजेको भन्दै स्थानीयले बिरोध जनाएका हुन् । योजना छनौट भएकै स्थानका उपभोक्ताहरुलाई सुविधाबाट बञ्चित गराउन लागिएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयले उक्त योजना सर्वे तथा डीपीआर बनिसकेको स्थानमा निर्माण हुनुपर्ने माग राखेका छन् । 

योजना रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई दिएको निवेदन । 

प्रतिक्रिया