२७ महिनापछि संसदीय समितिले पाए नेतृत्व

२७ महिनापछि संसदीय समितिले पाए नेतृत्व

सुर्खेत असार २८ गते । गठन भएको २७ महिनापछि कर्णाली प्रदेशसभाका ४ वटा संसदीय समितिले नेतृत्व पाएका छन् । आइतबार प्रदेशसभा सचिवालयमा बसेका चारवटै समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका हुन् । बैठकले सार्वजनिक लेखा समितिको अध्यक्षमा यसअघि नेतृत्व गरिरहेका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठलाई नै चयन गरेको छ । यस्तै अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेकपाका गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिमा नेकपाकै सांसद दानसिं परियार र सामाजिक विकास समितिमा पनि नेकपाकी देवी ओली सर्वसम्मत चयन भएका हुन् ।

प्रदेशसभाको २०७४ चैत २६ गतेको दसौं बैठकले चारवटा समिति गठन गरेको थियो । तर विभिन्न कारण देखाउँदै करिब साढे २ वर्षसम्म समितिले नेतृत्व पाउन सकेको थिएन । यसअघि ज्येष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए । ज्येष्ठ सदस्यताका आधारमा अर्थ तथा प्राकृतिक स्रोत समितिमा अमरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले अध्यक्षता गरेका थिए ।

समितिका चारैजना अध्यक्षले आइतबार नै पद तथा गोपनीयताको सपथ तथा पदभार पनि ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख राजबहादुर शाहीले सपथ खुवाए । चयन भएलगत्तै सांसदहरुले जनताका माझमा धेरै विधेयक छलफल गराइ जनपक्षीय कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामाजिक विकास समितिकी अध्यक्ष ओलीले समितिको कार्ययोजना नै बनाएर अब बाँकी रहेको कार्यकालमा उत्कृष्ट काम गर्ने दाबी गरिन् । सरकारको कामको निगरानी गर्ने भन्दै विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष परियारले सरकारलाई लगाम लगाउने काम गर्ने बताए ।

प्राकृतिक स्रोत समितिका अध्यक्ष सिंहले पनि कानुन निर्माण गर्दा जनताका माझमा छलफल गर्ने कामलाई तीव्रता दिइने उल्लेख गरे । सार्वजनिक लेखा समितिका अध्यक्ष श्रेष्ठले आफ्नै नेतृत्वमा अहिलेसम्म प्रभावकारी काम गरेको भन्दै आगामी दिनमा पनि थप निखारताका साथ काम गर्दै सरकारको कामलाई पारदर्शी बनाउन समितिले महत्वपूर्ण भूमिका खेल्ने जनाए । कान्तिपुर

प्रतिक्रिया