रुकुम सोती घटना : थप चारजना पुर्पक्षका लागि जेल चलान

रुकुम सोती घटना : थप चारजना पुर्पक्षका लागि जेल चलान

जिल्ला अदालत रुकुमबाट कारागार चलान गरिदै अभियुक्त।

जाजरकोट असार ३१ । गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका चार अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ।जिल्ला अदालत रुकुम पश्चिममा मंगलबार भएको थुनछेक बहसपछि भएको आदेशमा चार अभियुक्तलाई थुनामा राख्ने आदेश भएको जिल्ला अदालत रुकुम पश्चिमका निमित्त श्रेस्तादार लक्ष्मण विकले जानकारी दिए।

मंगलबार नै जिल्ला अदालतमा हाजिर भएका चार अभियुक्तलाई बयान र थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको हो। चौरजहारी नगरपालिका ८ रुकुम पश्चिमका तुलराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्तीलाई पुर्पक्षका लागी कारागार चलान गर्ने आदेश भएको हो। पाँच जना फरारको सूचीमा रहेका मध्ये भीमबहादुर घर्ती असार २८ गते जिल्ला अदालत रुकुम पश्चिममा आफैँ हाजिर भएपछि २८ गतेको बयान र बहसपछि यस अघि नै पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको थियो।

यो सँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये ३० जना पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ। जसमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधार गृहमा राख्ने आदेश भएको थियो। ३ जना साधारण तारिख र १ जना एक लाख धरौटीमा छुटेको जिल्ला आदालत रुकुम पश्चिमले जानकारी दिएको छ।जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि जातीय विभेदकै कारण गाउँलेले आक्रमण गर्दा ६ जनाको ज्यान गएको थियो। 

जाजरकोट भेरी नगरपालिकाका ४ का नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, सोही नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका–१ का टीकाराम नेपालीको उक्त घटनामा ज्यान गएको थियो। ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो।संसदीय छानबिन समितीले पनि घटना जातीय विभेदकै कारण भएको र गाउँलेले नियन्त्रणमा लिएर ६ युवाको हत्या गरेको प्रतिवेदन हालै सार्वजनिक गरेको छ। अन्नपूर्ण पोस्ट्बाट ।

प्रतिक्रिया