महिलामाथि कुटपिटको आरोपमा हवल्दारसहित ३ जना निलम्बनमा

महिलामाथि कुटपिटको आरोपमा हवल्दारसहित ३ जना निलम्बनमा

रुकुम पश्चिम साउन २ गते । महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरी हवल्दारसहित ३ जना निलम्बनमा परेका छन् । इलाका प्रहरी कार्यालय, आठबीसकोट काजमा रहेका प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री, प्रहरी जवान शक्तिबहादुर परियार र आठबीसकोट नगर प्रहरी निर्मला विक निलम्बनमा परेका हुन् ।

हवल्वर आग्री र जवान परियारलाई कर्णाली प्रदेश प्रहरीले र विकलाई आठबीसकोट नगरपालिकाले निलम्बन गरेको हो । महिलामाथि कुटपिट गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो । भिडियो सार्वजनिक भएपछि प्रहरी र नगरपालिकाले छुट्टाछुट्टै छानबिन समिति गठन गरेर छानबिन अघि बढाएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा हवल्दार र जवानको कमजोरी देखिएपछि जिल्ला प्रहरी कार्यालयले प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा उनीहरु निलम्बनमा परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । उनका अनुसार अनुसन्धानको सबै प्रक्रिया सकिएपछि थप कारबाही हुनेछ ।

घटनापछि नगरपालिकाले पनि प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । गत जेठ १ गते भएको उक्त घटनाको भिडियो असार २३ गते मात्रै सार्वजनिक भएको थियो । प्रहरी हवल्दार आग्रीकै आग्रहमा उक्त भिडियो खिचिएको अनुसन्धानका क्रममा खुलेको छ । जाजरकोटबाट ठूलीभेरी नदीमाथिको झोलुंगेपुल तरेर राडीतर्फ आउने क्रममा महिलाले हेल्थ डेस्कमा बसेकी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज गरेपछि महिला नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया