चार महिना लामो लकडाउन अन्त्य

चार महिना लामो लकडाउन अन्त्य

काठमाडौं साउन ६ गते ।: विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएको छ ।  मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता तथा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चार महिनापछि लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन अन्त्य भएको उनको भनाइ छ । मन्त्री खतिवडाले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । सरकारले लकडाउनका कारण ठप्प रहेको होटल व्यवसाय खोल्ने निर्णयसमेत गरेको छ । साउन १५ गतेबाट होटल खुल्ने निर्णय गरेको सरकारले भोज र पार्टीमा भने प्रतिबन्ध जारी राखेको छ । सरकारको यो निर्णय अनुसार अब होटलमा भोज र पार्टी गर्न भने पाइने छैन । 

त्यसैगरी सरकारले भदौ १ गतेदेखि लामो दूरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि सरकारले उपत्यका र अन्य जिल्लाको हकमा सार्वजनिक सवारी साधन खोल्ने निर्णय असार २६ गते नै गरेको थियो । सँगै सरकारले भदौ १ बाट विद्यार्थी भर्ना खोल्ने निर्णय गरेको छ । स्कुल खोल्ने निर्णय गरे पनि सरकारले कक्षा सञ्चालन गर्न भने नदिने भएको छ । त्यसैगरी सरकारले यसअघि सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय खारेज गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । 

सँगै सरकारले निजी सवारी साधनमा लगाउँदै आएको जोरबिजोर प्रणालीसमेत हटाएको छ । यसअघि सरकारले असार १ गतेदेखि जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्ने निर्णय गरेको थियो । सँगै सरकारले भदौ १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरेको छ । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर आउदो हिउँदलाई ध्यानमा राखेर ट्रेकिङ बुकिङ खोल्ने निर्णयसमेत गरेको छ । 

पछिल्ला दिनमा घट्दै गएको कोरोना संक्रमण बढेमा फेरि लकडाउन हुने प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालमा कोरोना भाइरसका कारण पाँच महिनाको अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या भने १७ हजार ९ सय ५४ पुगेको छ । संक्रमितमध्ये १२ हजार चार सय ७७ निको भएका छन् ।  मंगलबार मात्र १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया