पहिरो प्रभावितलाई राहत

पहिरो प्रभावितलाई राहत

सुर्खेत साउन १९ गते । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्णरूपमा घर क्षति भएका परिवारलाई एक लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट घर पूर्ण क्षति भएकाहरूको आवास निर्माणका लागि राहतस्वरूप उक्त रकम दिने निर्णय गरेको हो ।

विपद्का समयमा नागरिकहरूमा पर्न जाने क्षति र पीडालाई कम गर्न मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । बैैठकले विपद्बाट क्षति भएको घरपरिवारका लागि तीन महिना पुग्ने गरी खाद्यान्न उपलब्ध गराउने निर्णय समेत गरेको प्रवक्ता केसीले बताइन् । वर्षायाम सुरु भएसँगै कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्रवक्ता केसीले प्राकृतिक विपद्का कारण घरबारविहीन भएकाहरूलाई सरकारले तत्काल आवास तथा खाद्यान्न उपलब्ध गराउन लागेको जनाइन् । प्रदेश सरकारले प्राकृतिक विपद्मा परी ज्यान गुमाउने नागरिकका लागि यसअघि नै दुई लाख रूपैयाँको विमा गरिसकेको छ ।

यस्तै, मन्त्रीपरिषद् बैठकले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागि साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया