पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालिकोट साउन १९ गते । पहिरोका कारण ५ दिनदेखि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध थियो। 

राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलीयाले जानकारी दिए । उनका अनुसार डिभिजन सडक कार्यालय जुम्लाको डोजरले पहिरो पन्छाएपछि राजमार्ग नियमित सूचारु भएको छ । जिल्लाको तिलागुफा नगरपालिकास्थित ठाकुल्ला खोलामा पानीको बहाब बढेपछि राजमार्ग अवरुद्ध हुने र पानीको बहाब घटेपछि राजमार्ग सञ्चालन हुने गरेको छ। 

कर्णाली राजमार्गको दैलेख र कालिकोटको सिमाना दहिखोला, गगने खोला, काले खोला, शेरीघाट, मान्म, ताडी, बिहानी खोला, शेरावाडा, टाकुल्ला, खल्लागाड लगायतका तीन दर्र्जन भन्दा बढी ठाँउमा खसेको पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जीनियर लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार पहिरोका कारण पाँच दिनदेखी अबरुद्ध राजमार्ग खुलाउनका लागि जुम्लादेखी डोजर सहित डिभिजन सडक कार्यालय जुम्लाको टोली पहिरो पन्छाउदै कालिकोट हुँदै दैलेखको सिमानासम्म पुगेको थियो । ती सबै स्थानमा पहिरो पन्छाएर राजमार्ग खुलाइएको छ ।  

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले लामो समय राजमार्ग अवरुद्ध हुन नदिन डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिइएको बताए । डिभिजन सडक कार्यालय जुम्लाबाट एउटा डोजर कालिकोटमा राख्ने व्यवस्था मिलाइएको बताउदै राजमार्गका धेरै ठाँउमा पहिरो खेस्ने समस्याले अवरुद्ध राजमार्ग समयमै खुलाउन नसकिएको बताए । लगातार एक हप्तासम्म राजमार्ग अवरुद्ध हुन नदिन सबै सरोकारवालाबीच छलफल र समन्वय भइरहेको उनको भनाइ छ। 

प्रतिक्रिया