सुर्खेतमा नागरिकता वितरण बन्द

सुर्खेत साउन २२ गते । : सुर्खेतमा नागरिकता वितरण बन्द गरिएको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण लगायतका सेवा बन्द गर्ने निर्णय गरेको हो। प्रशासनले बिहीबार सूचना निकालेर अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको जनाएको छ।
प्रशासनका अनुसार आइतबारदेखि ति सेवाहरु बन्द हुनेछन्। जिल्ला प्रशासन कार्यालयका अनुसार नागरिकता, राहदानीको सिफारिस, संघसंस्था दर्ता र नविकरण तथा अन्य सिफारिस सेवा पनि बन्द गरिएको हो। जिल्लामा कोरोनाको संक्रमण दर बढेकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यी सेवाहरु बन्द गरिएको सूचनामा उल्लेख छ।
यस्तै कोरोनाको संक्रमणको जोखिमपूर्ण अवस्था आएको भन्दै जिल्लामा कृष्ण जन्माष्टमी र तीज पर्व मनाउन पनि रोक लगाएको छ। कोरोना नियन्त्रणका लागि सभा, गोष्ठी, सेमिनार, तालिम, जुलुस, जात्रा, महोत्सवलगायत धार्मिक कार्यक्रमहरुमा पनि रोक लगाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो। अब कृष्णजन्माष्टमी र हरितालिका तीज लगायतका पर्वहरु खुला रुपमा मनाउन पाइने छैन। तीज र जन्माष्टमीमा भीडभाड हुने भएकाले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।
प्रतिक्रिया