कोरोना महामारीविरुद्ध जुध्न छुट्याएको सात करोड बजेट फ्रिज

कोरोना महामारीविरुद्ध जुध्न छुट्याएको सात करोड बजेट फ्रिज

सुर्खेत साउन २५ गते ।  कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो ।

कर्णालीमा केन्द्र र प्रदेश सरकारबाट कोरोनाविरुद्ध जुध्नका लागि ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चारसय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रतिकार्यको ७७ प्रतिशत अर्थात २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ मात्रै कार्यान्वयन भएको छ । 
कोरोनाको त्रासपछि प्रदेश सरकारले १० करोड चारलाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पतालाई उपलब्ध गराएको थियो । जसमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक÷एक करोड र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । 

त्यस्तै कोरोना प्रतिकार्यकै लागि थप १६ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य कार्यालय दैलेखलाई एक÷एक करोड रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । जिल्ला तहमा नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा नपाएको, अस्पतालहरुमा आवश्यक उपकरण नभएको, औषधिको उपलब्धता नभएको र अधिकांश क्वारेन्टाइन र आइसोलेसनमा न्युनतम सुविधा पनि नदिएर बजेट फ्रिज गरिएको भन्दै सरोकारवालाले आलोचना गरेका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना विशेष अस्पतालका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतको तीन करोड ४३ लाख  एकहजार ६ सय ९५ रुपैयाँ फ्रिज भएको छ । प्रदेश अस्पताललाई संघीय सरकारले एक करोड र प्रदेश सरकारले चालु र पूजिँगततर्फ नौं करोड ७५ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । प्रदेश अस्पताल कर्णाली प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल समेत हो ।

यस्तै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको ८२ लाख ५१ हजार नौँ सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको ३५ लाख ५० हजार रुपैयाँमध्ये २७ लाख १५ हजार पाँचसय रुपैयाँ कार्यान्वयनमा आउँदा आठ लाख ३५ हजार रुपैयाँ फ्रिज भएको छ ।

कर्णाली प्रदेशका दश वटा जनस्वास्थ्य कार्यालय (जिल्ला अस्पताल) मध्ये दैलेखमा कोरोना प्रतिकार्यको ९४ प्रतिशत बजेट कार्यान्वयन भएको छ । कर्णाली प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित भएको दैलेखमा संघ र प्रदेशबाट एक करोड ८९ लाख ५० हजार प्राप्त भएको थियो । जसमध्ये ९४ प्रतिशत अर्थात एक करोड ७९ लखा सात हजार सातसय ५० रुपैयाँ खर्च भएको छ । बाँकी दश लाख ४२ हजार दुईसय ५० रुपैयाँ फ्रिज भएको छ । यस्तै जनस्वास्थ्य कार्यालय सुर्खेतको एक करोड २६ लाखमध्ये ४६ लाख ९९ हजार आठसय फ्रिज भएको छ । 

कालिकोटको ११ लाख ५० हजार आठ सय, जुम्लाको ६ लाख ५३ हजार ६, हुम्लाको १४ लाख ८१ हजार र मुगुको १२ लाख ९६ हजार तीन सय रुपैयाँ फ्रिज भएको छ । त्यस्तै डोल्पामा १० लाख २३ हजार, मेहलकुना अस्पताल सुर्खेतको १३ लाख १५ हजार र प्रदेश आयुर्वेद औषधालयको ६० लाख ४८ हजार रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यले जानकारी दिए ।

कोरोना रोकथामका लागि विनियोजन गरिएको बजेट लकडाउनका कारण कार्यान्वयनमा बाधा परेको सम्बन्धित अस्पताल तथा स्वास्थ्य कार्यालयहरुले बताएका छन् । सबैभन्दा बढी बजेट फ्रिज भएको प्रदेश अस्पतालले लकडाउनकै कारण बजेट कार्यान्वयन गर्न कठिनाइ भएको बताएको छ । अस्पतालले पीसीआर मेसिन र विभिन्न किट तथा बेडहरु खरिद गरेको तर लकडाउनका कारण पुरै बजेट कार्यान्वयन गर्न नसकेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए ।   अन्नपूर्णबाट साभार गरिएको ।

प्रतिक्रिया