दैलेखमा ५ आईसीयू र एक वटा भेन्टिलेटर थपिने

दैलेखमा ५ आईसीयू र एक वटा भेन्टिलेटर थपिने

दैलेख साउन ३० गते । कर्णाली प्रदेश सरकारले दैलेख, सल्यान र कालीकोटका जिल्ला अस्पतालमा आईसीयू बेड थप्ने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले यसका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।

सामाजिक विकासमन्त्री दल रावलले तीनवटै जिल्ला अस्पतालमा ५/५ वटा आईसीयू र एक/एकवटा भेन्टिलेटर थप्ने बताए । उनका अनुसार करिब २ हप्ताभित्र आईसीयू र भेन्टिलेटर सुरु गर्ने गरी मन्त्रालयले तयारी अघि बढाएको छ ।

सुर्खेत र जुम्ला अस्पतालमा पनि आईसीयू र भेन्टिलेटर थप्नेबारे छलफल भइरहेको उनले बताए । हाल कर्णालीका सुर्खेत, जुम्ला र दैलेख अस्पतालमा ४० आईसीयू र १७ भेन्टिलेटर रहेका छन् ।

मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म २ हजार ५२ जनामा कोरोना पुष्टि भए पनि ‘एक्टिभ’ केसको संख्या १ सय ४५ रहेको छ । ६ जनाको मृत्यु भएको छ भने १ हजार ९ सय १ जना डिस्चार्ज भएर घर फर्किएका छन् । कर्णाली प्रदेश अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा ५ जनालाई आईसीयूमा राखेर उपचार गरिएको थियो । तीमध्ये एकजनाको मृत्यु भयो भने अरु निको भएर घर फर्केका अस्पतालका डा. केएन पौडेलले बताए । अहिले आईसीयू र भेन्टिलेटरमा कोरोनाका बिरामी छैनन् ।

बैठकले एक स्थानीय तहमा एक क्वारेन्टाइन वा आइसोलेसन स्थायी रुपमा राख्ने निर्णयसमेत गरेको छ । सीमा नाकामा कडाइ गर्ने र भारत तथा देशका अन्य क्षेत्रबाट आएका व्यक्तिहरुलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने निर्णयसमेत गरिएको छ ।

प्रतिक्रिया