सिन्धुपाल्चोकको लिदिमा पहिरो : बस्ती नसार्दा आइलागेको विपद्

          |   प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७     ::: 238 पटक पढिएको   |  

काठमाडौं साउन ३०। २०७२ को भूकम्पले हल्लाएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो । अधिकारीका अनुसार तामाङ समुदायको बाहुल्य रहेको यो बस्तीलाई पहिरोबाट जोगाउन केही संरचना बनाउनुपर्ने थियो । भूकम्प गएको ५ वर्ष बित्यो, १२० घरधुरी भएको यो गाउँलाई पहिरोबाट बचाउन खासै काम भएन ।

प्राधिकरणका अधिकारीहरुका अनुसार सुरुमा ठूलो पहिरोमा जल प्रकोप उत्पन्न विभागले र तारजाली लगाएर हुने ठाउँमा भूसंरक्षण विभागसँग सहमति भएको थियो । तर, एकाध ठाउँबाहेक अन्यत्र काम भएन । पछिल्लो समय त दुबै विभाग अरु संरचनामा मर्म भएपछि जोखिमयुक्त बस्तीहरुले कसले काम गर्ने भन्नेसमेत थाहा छैन ।बस्तीलाई सुरक्षित बनाउन काम नभएपछि दुई परिवार भने गाउँ छाडेर सेलाङ सरे ।

केही परिवार सार्वजनिक जंगलमा अस्थायी टहरा बनाएर बसेका पनि थिए । तर, दीर्घकालीन विकल्प बनेन र उनीहरु फेरि जोखिमयुक्त लिदि बस्तीमा नै फर्किन बाध्य भए । यो वर्ष गाउँमा कच्ची नै भए पनि मोटरबाटो पुग्यो, विद्युत पुग्यो । लिदिबासी पनि जोखिम मोलेरै बसे । तर, यो वर्ष फेरि सिन्धुपाल्चोक पहिरोको चपेटामा पर्‍यो । असार अन्त्यतिर बाह्रबिसे नगरपालिका–५ जम्बुमा पहिरोले बस्ती बगायो । मेलम्ची, बरुवामा पहिरो खस्यो ।

यसपछि भने लिदिबासीको मनमा पनि चिसो पर्‍यो । गाउँमाथि भूकम्पले हल्लाएको पहाड, तलतिर बलेफी खोलामा निर्माणाधीन ३६ मेगावाटको अपर बलेफी हाइड्रोको सुरुङमार्ग । बस्तीमाथि धाँजा फाटेपछि लिदिबासी ज्यान जोगाइदिन माग गर्दै स्थानीय जनप्रतिनिधि कहाँ पुगे । सकेसम्म बस्ती नै सारिदिनुपर्ने उनीहरुको माग थियो ।‘पहिरोको जोखिम बढ्यो । बस्ती सार्न पहल गरिदिनुपर्‍यो भनेर स्थानीयबासीहरु आउनुभएको थियो’ जुगल गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर बिक भन्छन्, ‘हामीले भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै जिल्ला विपद व्यवस्थापन समितिमा पत्र पनि पठाएका छौं ।’

गाउँपालिकाले लिदि, सानोनाम्फा, नाम्खा/सुकुली, सञ्चगाउँ/झुल्के र निम्लुङ/बैगाड टोलको भौगर्भिक अध्ययन गरिदिन आग्रह गर्दै २२ साउनमा पत्र पठाएको थियो । ‘प्रदेशमा पत्राचार हुने क्रममा थियो । तर, विपत् आजै आइदियो’ प्रशासकीय अधिकृत लोकबहादुरले भने । गाउँमाथिबाट खसेको पहिरोले १३ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ३७ वटा घरमा ठूलो क्षति भएको छ । पहिरोमा परेका ११ जनाको शव भेटिएको छ भने २७ जना हराइरहेका छन् ।

जलाधारविद् मधुकर उपाध्या सम्भावित जोखिमबारे पूर्वजानकारी भएर पनि स्थानीयलाई बचाउन नसक्नु सबैभन्दा चिन्ताको विषय भएको बताउँछन् । ‘पूर्वसूचना पाएर पनि मानवीय क्षति रोक्न नसक्नु साह्रै नमज्जाको कुरा भयो’ उनी भन्छन्, ‘यस्तो लापरवाही हुने हो भने प्रविधिले जतिसुकै विकास गरे फाइदा लिन सकिँदैन ।’

बेलैमा सावधानी अपाउँदा चार वर्ष पहिले म्याग्दीमा एक सयभन्दा बढीको ज्यान जोगिएको थियो । पहिरोको खोजिममा परेकाहरुलाई प्रहरी लगाएर बलपुर्वक वस्तीबाट सुरक्षित स्थलमा सार्दा बचाउन सम्भव भएको थियो । जलाधारविद् उपाध्या भन्छन्, ‘म्याग्दीमा जस्तै गर्न सकेको भए लिदिवासीलाई पनि बचाउन सकिने रहेछ ।’

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ भने आफूहरुले बचाउने प्रयास गर्दै नगरेको मान्न तयार छैनन् । ‘बाह्रबिसेको पहिरोको पर्सिपल्ट उहाँहरुले अुसरक्षित भयौं भनेपछि हामीले केही त्रिपाल र तीन वटा चाइनिज टेण्ड पठाएर अस्थायी आवास मिलाएका थियौं’ उनले भने । पानी परेका बेला र रातको समयमा त्रिपालमा सामूहिकरुपमा बसोबास गर्ने उनीहरु बिहान बस्तुभाउलाई घाँसपानी गर्न घरमा पुग्थे । शुक्रबार पनि केही बिहानै पुगेका थिए, त्यहीबेला घरमाथिबाट आएको पहिरोले घरगोठसँगै उनीहरुलाई बगायो । अनलाइनखबर



Leave a comment

Your email address will not be published.


*