सञ्चालनमा आयो सार्वजनिक शौचालय

दैलेख साउन ३२ ।
दैलेख सदरमुकाममा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । डिभिजन वन कार्यालय दैलेखको सहयोगमा क्लिन सिटी अफ दैलेखले निर्माण गरेको सार्वजनिक शौचालय सञ्चालनमा आएको हो । नारायण नगरपालिका–१ स्थित दैलेख–सुर्खेत सवारी साधन छुट काउन्टर नजिकै सार्वजनिक शौचालय सञ्चालनमा ल्याईएको हो । डिभिजन वन कार्यालय दैलेखको चार लाख २० हजार रुपैयाँको आर्थिक सहयोगमा क्लिन सिटी अफ दैलेखले सार्वजनिक शौचालय निर्माण गरेको हो ।
सार्वजनिक शौचालयको आइतवार उद्घाटन गरिएको छ । उद्घाटनका अबसरमा नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले सार्वजनिक शौचालय सञ्चालनमा आएसँगै जिल्लाका विभिन्न स्थानबाट विभिन्न काममा सदरमुकाममा आउने नागरिकहरुलाई सहज हुने बताए । उनले शौचालय व्यवस्थापनका लागि क्लिन सिटी अफ दैलेखलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।
क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले विगतका दिनमा सदमुकाम क्षेत्रमा सरसफाई तथा सचेतनाका अभियानहरु सञ्चालन गरिएको बताउँदै हाल सार्वजनिक शौचालय निर्माण गरेर सञ्चालनमा ल्याईएको बताए । सदरमुकामलाई सफा र सुन्दर बनाउने अभियानलाई थप प्रभावकारी बनाइने हमालको भनाई छ । हमालले क्लिन सिटी अफ दैलेखद्धारा सञ्चालनमा आएको सार्वजनिक शौचालयलाई व्यवस्थित बनाईने उल्लेख गरे ।
यस अघि नारायण नगरपालिकाले सदरमुकाममा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गरेको भएपनि व्यवस्थापन नहुँदा सञ्चालनमा आउन सकेको छैन् । नगरपालिकाले सदरमुकामका विभिन्न स्थानमा पाँच वटा सार्वजनिक शौचालय निर्माण गरेको थियो । ती शौचालयहरु व्यवस्थापन गरि सञ्चालनमा ल्याउनुपर्ने यहाँका नागरिकहरुले माग गर्दै आएका छन् ।
प्रतिक्रिया