कालिकोटमा दलितमाथि कुटपिट गर्ने चारजना पक्राउ

कालिकोटमा दलितमाथि कुटपिट गर्ने चारजना पक्राउ

कुटपिटबाट घाइते भएका पंख विक ।

बिस्नप्रसाद न्यौपाने, कालिकोट भदाै ४ गते । जिल्ला प्रहरी कार्यालय कालिकोटले जातिय विभेद गरी कुटपिट गर्ने चारजनालाई पक्राउ गरेको छ । जिल्लाको शुभकालिका गाउँपालिका ८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गर्ने स्थानीय चारजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले बताए । उनका अनुसार पक्राउ पर्नेमा शुभकालिका गाउँपालिका ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं. ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं. ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाल पक्राउ परेका हुन् । उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटनाको बारेमा विस्तृतरुपमा अनुसन्धान सुरु गरिएको डिएसपी ओलीयाले बताए । 

मन्दिर दर्शन गर्न जाँदा कुटपिट

शुभकालिका गाउँपालिका ७ मच्चेबारीमा रहेको मष्टो धवलपुराको मन्दिरमा साउन २६ गते पूजा थियो । उक्त पूजामा दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको डिएसपी ओलीयाले बताए । उनले भने, ‘घाइते पंखका बुवा पदम विकले दिएको जाहेरिका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा धवलपुराको मन्दिरमा पूजा हुने र जात्रा लाग्ने भएकाले पंख विक जात्रा हेर्न मन्दिर गएको, बाटोमा ती चार जना युवाले अनावश्यक विवाद गरी कुटपिट गरेको खुलेको छ। 

पीडित पंख विकको खुट्टा र शरीरका विभिन्न भागमा निल डामहरु देखिएका छन् ।पीडित पंखका बुवा पदम कामीले धबलपुरा मन्दीरमा लाग्ने जात्रा हेर्न गएको छोरा फर्किँदा घाइते भएर आएको बताए । उनले भने, ‘मेरो छोरा सोझो थियो । कसैसँग झगडा गर्दैन थियो । जात्रा हेर्न जाँदै गर्दा बीच बाटोमा दलितले हाम्रो अगाडी चस्मा लगाएर आउने, हिरो बन्ने, दलित भएर हाम्रो देवताको मन्दीरमा दर्शन गर्न जाने जस्ता अपमानित शब्दहरु बोली गाली गरेर कुटपिट गरे । छोराको यो बिजोक देखेपछि आफूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हुँ ।’
 
दलित अधिकारकर्मी चित्र विश्वकर्माले समाजमा जातिय विभेदका घटनाहरु अहिले पनि कमी नआएको बताए । दलित भएकै कारण समाजमा दलित समुदाय अन्यायमा छन् । उनले भने, ‘साझा आवाज परियोजनाले जिल्लामा जातीय विभेद सम्बन्धि सचेतना गरिरहेको छ । समाजमा हुने विभेदका घटनाहरु न्याय निरुपण गर्न निकायमा ल्याउ प्रयास पनि गरिरहेको छ । पंख विकको घटनालाई पनि प्रहरी कार्यालयमा ल्याउन सहयोग गरेको हो ।’ जातिय विभेदसम्बन्धि बनेका ऐन कानुनको बारेमा समाजमा जानकारी गर्ने र समाज आफै सचेत नबनाएसम्म घटनामा कमी नआउने उनको भनाइ छ । 

प्रतिक्रिया