पीसीआर परीक्षणमा ३ अर्ब १९ करोड खर्च

पीसीआर परीक्षणमा ३ अर्ब १९ करोड खर्च

काठमाडौं भदौ ५ गते । सरकारले कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षणमा मात्र करिब तीन अर्ब १९ करोड खर्च गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर परीक्षणमा मात्र तीन अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार पाँच सय खर्च भएको हो।

गौतमका अनुसार राज्यले यत्ति ठूलो रकम खर्च गर्दा ३० हजार ४८३ जनाको रिर्पाट पोजिटिभ आएको छ। अहिलेसम्म सरकारले पाँच लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरेको छ।  प्रति एक व्यक्तिको पीसीआर परीक्षण गर्न पाँच हजार पाँच सय खर्च हुन्छ। यो खर्च पीपीईबाहेक ल्याब परीक्षणको मात्र भएको गौतमले प्रष्ट पारे। ‘अहिलेसम्म पीसीआर परीक्षणमा मात्र तीन अर्ब, १८ करोड, ९४ लाख, ४४ हजार पाँच सय खर्च भएको छ’, प्रवक्ता गौतमले भने, ‘यति पैसा खर्च गरेर परीक्षण गर्दा ३० हजार ४८३ जना पोजिटिभ देखिनु भएको छ।’ 

सरकारले कोरोनाको एउटा केस भेट्न एक लाख चार हजार खर्च गर्नु परेको उनले प्रष्ट पारे। ‘कोरोनाको एउटा पोजिटिभ केश भेट्न सरकारले एक लाख ४ हजार ६ सय ३१ रुपैयाँ खर्च गरिराखेको छ’, गौतमले थपे।  एउटा गम्भीर बिरामीलाई ३० दिन आइसीयूमा राख्नु परेमा साढे चार लाख खर्च हुने भन्दै गौतमले कोरोना संक्रमणबाट जोगिन सबैलाई आग्रह गरे। 
 
‘कोरोनाको गम्भीर बिरामीलाई आइसीयूमा राख्नु परेमा ३० दिन राख्नु पर्दा चार लाख ५० हजार तिर्नु पर्ने हुन्छ’, गौतमले भने। कोरोना जाँच र उपचार खर्चिलो भएकाले जरुरी नपरेसम्म घरबाट बाहिर ननिस्कन उनको आग्रह छ।  ‘कोरोना जाँच गरेर पोजिटिभ पत्ता लगाउने र उपचार गर्न  बहुत खर्चिलो छ। त्यसैले जरुरी काम नपरी घरबाट ननिस्कनुहोस्’, गौतमले सर्वसाधारणलाई अनुरोध गर्दै भने, ‘काठमाडौंमा निषेधाज्ञा छ। यसलाई समेत पालना नगरेको देखियो। बाहिर ननिस्कनु होला। अत्यावश्यक परेर आफ्नै टोलमा निस्कदा दुई मिटरको दूरी कायम गरेर अनिवार्य मास्क लगाउनुहोला।’  प्रवक्ता गौतमले एकजना सर्वसाधारणले  साबुपानीले हात धुने र स्यानिटाइर प्रयोग गरेमा सरकारको एक लाख चार हजार बच्ने बताउँदै संक्रमणबाट सचेत रहन सबैलाई आग्रह गरे।

थप ११ को मृत्यु, ८३८ संक्रमित

 नेपालमा पछिल्लो २४ घण्टामा मात्र कोरोनाले एक महिला र १० पुरुष गरेर ११ जनाको मृत्यु भएको छ। मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठान गरेर ११ जिल्लामा एकएकजना गरेर ११ जनाको मृत्यु भएको हो। योसँगै कुल मृतकको संख्या १३७ पुगेको छ।  पछिल्लो २४ घण्टामा १३ हजार ६७९ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष छन्। 

पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ। प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुने यो संख्या कुल संक्रमितमध्यको ६० प्रतिशत हो। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ। अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन्। तीन हजार ५८६ जना होम आइसोलेसनमा रहेका छन् भने ८ हजार ५४६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

प्रतिक्रिया