कोरोना कहर : दैलेखमा पुनः निषेधाज्ञा

          |   प्रकाशित मितिः आइतवार, भदौ ७, २०७७     ::: 226 पटक पढिएको   |  

ज्वाला सन्देश संवाददाता
दैलेख भदौ ७ गते ।

दैलेख जिल्लाभार पुनः निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले यसअघि ८२ घण्टासम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको थियो । गत बिहीबार दिउँसो २ बजेदेखि जारी निषेधाज्ञा आज (आइतवार) राती १२ बजे सकिदैछ । स्थानीय प्रशासनले आगामी भदौ १० गते राती १२ बजेसम्म पुनः निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । तत्कालका लागि कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न जिल्ला भित्रको आवागमन, भीडभाड तथा सामुहिक रुपमा हुने कुनैपनि किसिमका गतिविधिहरु हुन नदिनु नै उपयुक्त देखिएकोले पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । स्थानीय प्रशासनले संक्रामण रोग ऐन, २०२० को दफा (२) स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए ।
स्थानीय प्रशासनले अत्यावश्यक सेवाहरु औषधी पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, फोहोरमैला व्यवस्थापन, इन्धन, भेटेनरी र एग्रोभेट पसलहरु नियमित सञ्चालनमा रहने जनाएको छ । तरकारी एवं फलफूल पसलहरु विहान ६ बजे देखि ८ बजेसम्म तथा साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । यी बाहेक अन्य सबै सेवा र कार्यहरु पूर्ण रुपमा बन्द गरिएको छ ।
दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या एक हजार ३७ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ९५ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।



Leave a comment

Your email address will not be published.


*