निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई गाउँपालिकाले तोक्यो जरिवाना

निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई गाउँपालिकाले तोक्यो जरिवाना

दैलेख भदाै १० गते । गुराँस गाउँपालिकाले निजी विधालयमा छोराछोरी पढाएको भन्दै सामुदायिक विद्यालयका ३ जना शिक्षकलाई कारबाही गरेको छ।  गाउँपालिकाले मिती ३१ असार २०७७ मा वडा नं. ५ मा रहेको कृष्ण माध्यमिक विद्यालयका ३ जना शिक्षकलाई जरिवाना स्वरुप १० हजारका दरले गाउँपालिकामा रकम दाखिला गर्नुपर्ने भन्दै सो विधालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा सो विधालयका प्रधानाध्यापक सुरेन्द्रकुमार चन्दले ८ भदौमा ती शिक्षकहरूलाई पत्र लेखि गाउँपालिकाको आन्तरिक राजश्व कोषमा सो रकम दाखिला गर्न अनुरोध गरेका छन्। 

सो विधालयमा कार्यरत शिक्षकहरू पदमवहादुर नेपाली, रोशनी मल्ल र कमला कुमारी चन्दको नाम उल्लेख गरी गाउँपालिकाले पत्र पठाएपछि सोही आधारमा जरिवानास्वरुप सो रकम जम्मा गर्न प्रधानाध्यापक चन्दले उनीहरूलाई पत्र लेखेका हुन्। गाउँपालिकाले विधालयमा पठाएको पत्रमा गाउँ कार्यपालिकाको मिती २०७६ चैत २५ गतेको वैठकले सामुदायिक विधालयमा अध्यापन गराउने शिक्षकले आफ्ना छोराछोरी निजी विधालयमा अध्ययन गराएको भेटिएमा १० हजार रकम जरिवाना गर्ने निर्णय गरेअनुसार ती शिक्षकहरूलाई जरिवाना तोकिएको उल्लेख गरेको छ। 

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामवहादुर बुढाले कार्यपालिका बैठकले निर्णय गरी प्रत्येक सामुदायिक विधालयलाई जानकारीका लागि पत्र पठाइएको भएपनि ती शिक्षकहरूले अटेर गरेकाले जरिवानास्वरुप रकम दाखिला गर्न पत्र पठाइएको बताएका छन्। छोराछोरी निजी विधालयमा पढाएकोले जरिवाना तोकिएका शिक्षक पदम नेपालीले गाउँपालिकाको निर्णय नमान्ने र जरिवाना रकम दाखिला नगर्ने कताएका छन्। उनले आफू कानूनी उपचारका लागि गाउँपालिकाविरुद्ध अदालत जाने जानकारी दिएका छन्। 

प्रतिक्रिया