कोरोना कहर : दैलेखमा फेरी थपियो निषेधाज्ञा

कोरोना कहर : दैलेखमा फेरी थपियो निषेधाज्ञा

हिक्मतबहादुर नेपाली
दैलेख भदौ १० गते ।
दैलेख जिल्लाभार पुनः दुईदिन निषेधाज्ञा थप गरिएको छ । स्थानीय प्रशासनले भदौ ७ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले बुधवार एक सूचना जारी गर्दै भदौ १२ गते शुक्रवार राती १२ बजेसम्म पुनः निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी बताए । तत्कालका लागि कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्न जिल्ला भित्रको आवागमन, भीडभाड तथा सामुहिक रुपमा हुने कुनैपनि किसिमका गतिविधिहरु हुन नदिनु नै उपयुक्त देखिएकोले पुनः निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । स्थानीय प्रशासनले संक्रामण रोग ऐन, २०२० को दफा (२) स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेकाे हाे ।
स्थानीय प्रशासनले अत्यावश्यक सेवाहरु औषधी पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धि सेवा, खानेपानी तथा विद्युत सञ्चालन तथा वितरण, फोहोरमैला व्यवस्थापन, इन्धन, भेटेनरी र एग्रोभेट पसलहरु नियमित सञ्चालनमा रहने जनाएको छ । तरकारी एवं फलफूल पसलहरु विहान ६ बजे देखि ८ बजेसम्म तथा साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । यी बाहेक अन्य सबै सेवा र कार्यहरु पूर्ण रुपमा बन्द गरिएको छ ।
दैलेखको पूर्वमा पर्ने जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाबाट दैलेख जिल्ला प्रवेशमा रोक लगाईएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गरेको छ । जिल्लामा निषेधाज्ञा जारी गरिएको भएपनि सदरमुकाममा होटल तथा खाजा पसलहरु खुल्लै छन् । दैलेखमा हालसमम कोरोना संक्रमितको संख्या एक हजार ३८ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । ती मध्ये ९ सय ९१ जना निको भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया