सुत्केरीको मृत्यु प्रकरण : शिशुको उच्च शिक्षा र उपचार खर्च ठाटीकाँध गाउँपालिकाले बेहोर्ने

सुत्केरीको मृत्यु प्रकरण : शिशुको उच्च शिक्षा र उपचार खर्च ठाटीकाँध गाउँपालिकाले बेहोर्ने

मृतक पार्वती शाही । तस्विर : ज्वाला सन्देश

हिक्मतबहादुर नेपाली
दैलेख भदौ १३ गते ।

दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडीकी २३ बर्षिया सुत्केरी पार्वती शाहीलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको घटनामा गाउँपालिकाले पीडित परिवारका मागहरु पुरा गर्ने सहमती भएको छ । उनको समयमै उपचार नपाउँदा मृत्यु भएको थियो । शनिवार साँझ गाउँपालिकाका जनप्रतिनीधि, मृतक महिलाका आफन्त र राजनीतिक दलका प्रतिनीधिसहितको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा बसेको बैठकले चार बुँदे सहमती गरेको हो ।
ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार घटनाको यथार्थ पत्ता लगाउनका लागि छानबिन समिति गठन गर्ने सहमती भएको छ । मृतक पार्वतीको नवजात शिशुको उच्च शिक्षासम्मको अध्ययन र सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्ने सहमती भएको अध्यक्ष शाहीले बताए । यस्तै पार्वतीको उपचारमा क्रममा लागेको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने भएको छ भने किरिया खर्च बापत गाउँपालिकाले किरिया अवधीभित्रै २५ हजार रुपैयाँ उपलब्ध गराउने सहमती भएको बताईएको छ । लामो समयदेखि डाक्टर विहिन रहेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा अबको १५ दिनभित्र विशेषज्ञ सेवा सञ्चालन गर्ने सहमती समेत भएको छ । त्यसैगरि गाउँपालिकाले एम्बुलेन्स सेवाका लागि नियमित गाडीको व्यवस्थापन गर्ने सहमती भएको बताईएको छ ।
पार्वतीलाई प्रसूतीका लागि शुक्रवार विहान ११ बजे प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा भर्ना गरिएको थियो । शुक्रवार दिउँस ३ बजे पार्वतीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् । सुत्केरी भईसकेपछि अत्याधिक रक्तश्राव भएको थियो । अत्याधिक रक्तश्रावकापछि उपचारमा ढिलाई हुँदा उनको निधन भएको हो । अत्याधिक रक्तश्राव हुँदापनि स्वास्थ्य केन्द्रको लापरबाहीले उनको मृत्यु भएको आफन्तले बताए ।
गाउँपालिकाको एम्बुलेन्स बिग्रीएर थन्किएका कारण नीजि सवारी साधनको व्यवस्थापन गरेर साँझ शुक्रवार साँझ ६ बजे कर्णाली प्रदेश अस्पताल तर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । कर्णाली प्रदेश अस्पतालले शुक्रवार राती १२ बजे पार्वतीको मृत घोषणा गरेको थियो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको आफन्तले जनाए ।पार्वतीको मृत्युपछि उनका आफन्तहरुले विभिन्न मागहरु राख्दै आन्दोलन गर्नुका साथै गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

प्रतिक्रिया