पुडेनी गाउँका पहिराे पीडितले एक बर्षपछि पाए नयाँ घर

पुडेनी गाउँका पहिराे पीडितले एक बर्षपछि पाए नयाँ घर

दैलेख भदाै १७ गते । गुराँस गाउँपालिका–२ पुडेनी गाउँका पहिरो पीडितले नयाँ घर पाएका छन् । २०७६ साल असारमा गाउँमाथिबाट खसेको पहिरोले पुडेनीका अधिकांश घरमा क्षति पुर्याएको थियो । पहिरोले गाउँ नै जोखिममा परेपछि उनी विस्थापित बनेका थिए ।  आफ्नो परिवारका लागि नयाँ घर बन्दा स्थानीय जयबहादुर ओली खुसी छन् । उनी मात्र होइन, पुडेनीका १४ परिवारका लागि गाउँपालिकाले नयाँ घर बनाएको छ ।

नयाँ घरमा बस्न पाउने भएपछि १४ घरका ९० जनाले गत वर्ष पाएको पहिरोको सास्ती बिर्सन थालेका छन् । ‘गत वर्ष एउटै त्रिपालमा ७ जनाको परिवार कष्ठसाथ बस्नुपर्यो,’ ओलीले भने, ‘नयाँ घर बनेपछि पहिरोको सबै पीडा भुलियो ।’ बजार नजिक नमुना घर बनेपछि जीवनस्तर सहज हुने उनको अपेक्षा छ ।

गाउँपालिकाले पहिरोपीडितका लागि आवास निर्माण गरेपछि वर्षायाममा सास्ती खेप्नुपर्ने बाध्यता हटेको स्थानीय लालमती सुनारले बताइन् । ‘गत वर्षसम्म आकाशबाट पानी पर्न थाले त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘अब ढुक्कले आफ्नै घरमा बस्न पाइने भयो ।’ पहिरोले खेतबारी बगाएपछि छाक टार्न भने समस्या भएको उनको गुनासो छ ।

गाउँपालिकाले सबै परिवारका लागि २ कोठाको घर बनाइदिएको हो । बत्ती, पानी र शौचालयको व्यवस्था पनि गाउँपालिकाले गर्ने अध्यक्ष खेमराज ओलीले बताए । उनका अनुसार गाउँपालिको ३५ लाख र प्रदेश सरकारको विशेष अनुदानअन्तर्गतको २५ लाख रुपैयाँमा पहिरोपीडितका लागि आवास निर्माण भएको हो । जसमा स्थानीयले ८ लाख रुपैयाँको श्रमदान गरेका छन् ।

विस्थापितलाई घर बन्ने अवधिभर सोलार र त्रिपालको व्यवस्था गरेर राखिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक जग्गा खोज्न समय लागेकाले घर बनाउन ढिलाइ भएको गाउँपालिका अध्यक्ष ओलीले बताए । ‘विस्थापितहरुको घर र जग्गा नजिकै बनाउन खोजिएकाले पनि ढिलोगरी आवास निर्माण भएका हुन्,’ उनले भने, ‘सबै घर बनिसकेका छन्, छिट्टै पहिरोपीडितलाई हस्तान्तरण गर्छौ ।’

प्रतिक्रिया