कोरोनाको डरले गाउँलेहरु रोग पालेर बसेका छन् : डा. केसी

कोरोनाको डरले गाउँलेहरु रोग पालेर बसेका छन् : डा. केसी

सुर्खेत भदाै २१ गते । गाउँमा डाक्टर आएको थाहा पाएपछि हुम्ला, ताजाकोटकी ९ वर्षीया बालिका असार पहिलो साता उनलाई भेट्न मैला स्वास्थ्यचौकी पुगिन् । तीन साताअघि बालिकाको पाखुरा भाँचिएको थियो । उनको अवस्था देख्दा वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. गोविन्द केसीको आङ सिरिङ्ग भयो । ‘हात तलदेखि माथिसम्म पाकेको थियो, किरा पस्नेजस्तो घाउ देखिन्थ्यो,’ उनले भने, ‘धन्न, बेलैमा भेट भयो, मैले घाउ सफा गरेर औषधीमूलो गरिदिएँ, अहिले त सन्चो भइसक्यो होला ।’

कर्णालीका ग्रामीण क्षेत्रमा सबै बिरामी ती बालिकाजस्तै भाग्यमानी भने छैनन् । चैत ११ देखि सुरु भएको देशव्यापी लकडाउनले थुप्रैको भाग्य ‘लक’ गरिदिएको छ । लकडाउन सुरु भएदेखि नै कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा स्वयंसेवा गरिरहेका डा. केसीले ग्रामीण क्षेत्रका मान्छे रोग पालेर बस्न बाध्य भएको बताए । ‘लकडाउनले गाडी नचल्दा बिरामी अस्पताल जान सकिरहेका छैनन्, कतिपय त कोरोनाको डरले पनि अस्पताल जाँदैनन्,’ उनले भने, ‘मान्छेहरूमा त्रास छ, कोरोनाका कारण उपचार नपाएर अन्य रोगले मान्छेहरू मरिरहेका छन् ।’ नसर्ने र दीर्घरोगका बिरामी लकडाउनको मारमा बढी परेको उनले बताए ।

फागुन पहिलो साता डडेलधुरा अस्पताल पुगेका केसी त्यहाँ दुई महिना बसे । डडेलधुराका साथै बैतडी, डोटी, बझाङका बिरामीको उपचार गरे । त्यहाँ उनले उपचारका लागि धनगढी, नेपालगन्ज वा भारत जानुपर्ने जटिल समस्या भएका बिरामीको पनि शल्यक्रिया गरे । ‘मैले भेट्न नसकेका यस्ता बिरामी गाउँमा अरू पनि होलान्,’ उनले भने । असार पहिलो साता कर्णालीको हुम्ला पुगेका केसीले यहाँको अवस्था अझ नाजुक देखे । कोरोना–यात्राका क्रममा उनले गाउँका स्वास्थ्य–संस्थामा पर्याप्त औषधि र स्वास्थ्यकर्मीमा सीपको अभाव रहेको पाए । लकडाउनका कारण गाउँमा औषधि आपूर्ति नहुने र बिरामीहरू अस्पताल जान नसक्ने हुँदा समस्या झन् विकराल बनेको उनको भनाइ छ ।

ताजाकोटको मैला स्वास्थ्यचौकीमा केसी आएको थाहा पाएपछि हात भाँचिएकी एक महिला उपचार गराउन पुगिन् । तर त्यो स्वास्थ्यचौकीमा काम्रोसमेत थिएन । उनले दुई वर्षअघि शिविर चलाउँदा छोडेर गएको काम्रो मगाई त्यसैले उपचार गरिदिए ।डा. केसी कोरोनाको प्रभावलाई ‘साइन्टिफिक एनालाइसिस’ गरेर त्यससम्बन्धी रणनीति बनाउनुपर्ने बताउँछन् । उपचार नभएको रोग भए पनि अहिले नेपालमा यसको मृत्युदर १ प्रतिशत पनि छैन । ‘बरु हेर्दा सामान्य देखिने झाडापखालाजस्ता रोगका कारण बर्सेनि १० हजार मान्छे मरिरहेका छन्, अन्य दीर्घरोगले पनि उत्तिकै मात्रामा ज्यान लिइरहेको छ,’ उनले भने, ‘कोरोना संक्रमण रोक्ने भन्दै हचुवाका भरमा लकडाउन र निषेधाज्ञा गर्दा अन्य रोगका कारण मृत्यु हुनेको दर बढ्न सक्छ ।’

उपल्लो कर्णालीका हुम्ला, डोल्पा र मुगुका कतिपय गाउँबाट जिल्ला अस्पताल पुग्न ३–४ दिनसम्म लाग्छ । गाउँकै हेपोमा पुग्न ५–६ घण्टा लाग्छ । डा. केसीले यस्तो विकटतामा बसेका मान्छेका लागि गुणस्तरीय स्वास्थ्यसेवाको अधिकार कोरोनासिर्जित लकडाउनले खोसेको बताए । स्थानीय सरकार पनि जनताले भोगिरहेको सास्तीबारे बेखबरजस्तै रहेको उनको भनाइ छ । ‘कतिपय ठाउँमा त बिरामी अस्पताल जान नपाएर छट्पटाइरहेका छन्, स्थानीय तहका सरकारी गाडीहरू कम्पाउन्डभित्र पार्किङ गरेर राखिएका छन्,’ उनले भने ।

अगुवाकै असावधानी

भदौ १२ गते बिहान डा. केसी जुम्लाको गुठीचौरस्थित स्वास्थ्यचौकीमा गएका थिए । त्यहाँ पुग्नेबित्तिकै स्वास्थ्यकर्मी र स्थानीय अगुवा उनलाई भेट्न आए । उनीहरू कसैको मुखमा पनि मास्क थिएन । ‘गाउँका सबैभन्दा सचेत मान्छे नै यति लापरबाही गरिरहेका छन् भने लकडाउन गर्दैमा कोरोनालाई जितिन्छ त ?,’ उनले भने । केसी राज्यले लकडाउनभन्दा बढी जोड सचेतीकरणमा दिनुपर्ने सुझाउँछन् । मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने र सामाजिक दूरी कायम गर्ने हो भने लकडाउनको आवश्यकता नपर्ने उनको भनाइ छ । यो काममा स्थानीय स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, जनप्रतिनिधि र राजनीतिक दलका नेता–कार्यकर्तालाई स्वयंसेवी रूपमा परिचालन गरिनुपर्ने उनले बताए । ‘यति बेला गाउँका जनतालाई सही सूचना र ज्ञानको खाँचो छ, लकडाउनले भने कोरोनालाई ठूलो हाउगुजी बनाएको छ,’ उनले भने, ‘लकडाउन गर्दैमा कोरोना नियन्त्रण हुन्छ भन्ने सरकारी सोचले समस्याको खाडल झन् गहिरो बनाइरहेको छ ।’

बास र पानीसमेत मुस्किल

डा. केसी २२ वर्षअघि पहिलोपटक जुम्ला पुगेका थिए । अहिलेजस्तो सडक थिएन । हिँडेरै खलंगा पुगेका थिए । पछिल्लोपटक कोरोना कहरले उति बेलाको भन्दा सास्ती दिएको उनको अनुभव छ । कतिपय ठाउँमा त पानीसमेत पिउन नपाएको अनुभव उनले सुनाए । ‘कोरोनाबारे गाउँमा भ्रमपूर्ण सन्देश फैलाइँदा एक–दुई ठाउँमा मैले बास पनि पाउन सकिनँ, यसो हुनुमा गाउँलेभन्दा सन्देश सम्प्रेषण गर्ने राज्यका निकायको दोष हो,’ उनले भने, ‘गाउँलेहरू एक–आपसमा अत्यन्तै असावधानीसाथ बसेका छन्, नयाँ मान्छेलाई भने अछुतको व्यवहार गर्छन् ।’डडेलधुराबाट सुरु भएको ६ महिना लामो यात्रामा उनी एक्लै छन् । लकडाउनले गाडी नचल्दा हिँडेरै गाउँ–बस्तीमा सेवा गरिरहेका छन् । साउन तेस्रो साता बिहान ८ बजे जुम्लाको खलंगाबाट हिँडेर भोलिपल्ट बिहान ११ बजे मुगुको गमगढी पुगेको स्मरण गर्दै ७४ वर्षीय केसीले भने, ‘म एक हिसाबले बूढो पनि हुँ, सामान्यतया दुई दिन लाग्ने बाटोमा छिटै हिँडेजस्तो लाग्छ ।’ हाडजोर्नीसम्बन्धी बिरामीको उपचारका साथै कोरोनाबारे सचेतनासमेत फैलाउने गरेको उनले बताए ।

अवरोधले आक्रोशित

केसी स्थानीय प्रशासन र जनप्रतिनिधिले ठाउँ–ठाउँमा अवरोध गर्दा भने आक्रोशित छन् । डोल्पाको जगदुल्ला र जुम्लाको गुठीचौर गाउँपालिकाले अनुमतिबिना बिरामी जाँचेको भन्दै उनलाई रोक लगाएका थिए । जुम्ला जिल्ला प्रशासन कार्यालयले त स्वतन्त्रतापूर्वक हिँडडुल गर्नसमेत रोक लगाएको थियो ।शुक्रबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी किन्न जाँदा पनि अवरोध गरिएपछि उनको आक्रोश झन् बढेको छ । ‘म आफ्नो मर्जीले जनतालाई सेवा गर्न आएको हुँ, यसको लागि कसैको अनुमति लिँदैन, भनसुन पनि गर्दैन,’ उनले भने, ‘नेपाल मेडिकल काउन्सिल को रजिस्टर्ड चिकित्सक हुँ, सरकारी सेवाबाट रिटायर्ड भएपछि आफ्नो ज्ञान र अनुभव बाँड्नेबाहेक मेरो अरू कुनै स्वार्थ पनि छैन ।’ स्थानीय तहदेखि केन्द्रसम्मका सरकारका लागि लकडाउन र निषेधाज्ञा ‘तानाशाही’ योजना लाद्ने साधन भएको केसीले आरोप लगाए । कान्तिपुर

प्रतिक्रिया