कोरोना ‘रेडजोन’ मा रित्तिए आइसोलेसन र क्वारेन्टाइन

कोरोना ‘रेडजोन’ मा रित्तिए आइसोलेसन र क्वारेन्टाइन

दैलेख अस्पतालको मातहतमा सञ्चालनमा रहेको कोरोना अस्पताल ।

दैलेख भदौ २२ गते ।
कर्णाली प्रदेशमा पहिलोपल्ट कोरोना संक्रमण देखिएको दैलेखका अधिकांश आइसोलेसन र क्वारेन्टाइन रित्तिएका छन् । २ महिनाअघिसम्म कर्णालीमा ‘रेडजोन’ मानिएको दैलेखमा संक्रमित र भारतबाट फर्कनेको संख्या घटेपछि आइसोलेसन र क्वारेन्टाइन रित्तिएका हुन् । भारतबाट फर्कने नागरिकको संख्या ह्वात्तै बढेपछि जेठ र असार महिनाभरि सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । जिल्लाभरि झण्डै १२ हजार जना क्वारेन्टाइनमा बसेको स्थानीय तहको तथ्यांक छ । जेठ ५ मा पहिलो संक्रमित फेला परेपछि दैलेख कर्णालीको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको थियो छ । संक्रमणका कारण ३ जनाले ज्यानसमेत गुमाए ।
दुई महिना अघिसम्म भरिभराउ भएका नारायण र दुल्लु नगरपालिका, महाबु, नौमूले, डुङ्गेश्वर लगाएतका स्थानीय तहका क्वारेन्टाइन र आइसोलेसन अहिले खाली हुन थालेका छन् । ‘भारतबाट आउनेको संख्या बढेपछि एउटै कोठामा २० जनासम्मलाई राख्न बाध्य थियौं,’ दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले भने, ‘उच्च सावधानी र सतर्कताले भयाभह स्थिति आएन, अहिले क्वारेन्टाइन र आइसोलेसन रित्तै छन् ।’ स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार मंगलवारसम्म जिल्लाको ११ वटै स्थानीय तहमा एक हजार ७४ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये एक हजार ५२ जना डिस्चार्ज भईसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या २२ जना मात्रै छ । आठ हजार एक सय २४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
बाहिरबाट आएकाको सहज व्यवस्थापन र स्वाब संकलनलाई तीव्रता दिइएका कारण आइसोलेसन र क्वारेन्टाइन रित्तिएको नारायण नगरपालिका उपप्रमुख सावित्री मल्लले बताइन् । ‘समुदायस्तरमा पनि स्वाब संकलन तीव्र पारिएको छ,’ उनले भनिन्, ‘जनचेततना अभियानलाई पनि गाउँगाउँमा पु¥याएका छौं ।’
कोरोना न्यूनीकरण समिति गठन गरी प्रतिकार्य योजनासाथ अघि बढेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘कन्ट्रयाक्ट ट्रेसिङलाई जिल्लाभरि तीव्रता दिइएको छ,’ उनले भने, ‘जिल्लाभित्रै पीसीआर परीक्षण हुँदा पनि संक्रमण नियन्त्रणमा सहयोग पुग्यो ।’ उनका अनुसार समुदायस्तरमा मात्रै २ हजार १ सय ५५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया