गैरागाउँका पहिरो पीडितलाई सहयोग

गैरागाउँका पहिरो पीडितलाई सहयोग

हिक्मतबहादुर नेपाली
दैलेख भदौ २६ गते ।
पहिरोले सर्वस्व गुमाइ विस्थापित भएका र पहिरोको उच्च जोखिममा परेका घर परिवारहरुलाई सहयोग गरिएको छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका पहिरोले घर गुमाएका सात घरपरिवारलाई १५ हजारका दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग उपलब्ध गराएको हो । पहिरोले घरबारी गुमाएका ७ घरपरिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराईएको सोसेकका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । 

पहिरोका कारण उच्च जोखिममा रहेका परिवारका लागि ५८ वटा पाल, ३० सेट ओड्ने ओच्छ्याउने (सिरक, तन्ना, डसना र सिरानी) र एक सय ५९ मिटर पिफर्म हस्तान्तरण गरिएको थापाले बताए । उनले विभिन्न दातृ निकायहरुसँग समन्वय गरेर पहिरो पीडितहरुलाई सहयोगको लागि पहल गरिने जनाए । बिहीबार संस्थाका संस्थापक अध्यक्ष थापा र सल्लाहकार समितिका संयोजक सिता रानाले ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र वडाध्यक्ष रमेशबहादुर सिजापतीलाई सामग्री हस्तान्तरण गरेका छन् । 

गाउँपालिकाका अध्यक्ष शाहीले वर्षातका कारण गाउँपालिकाभर ७३ घरहरु भत्किएर नागरिकहरु विस्थापित भएको बताए । अध्यक्ष शाहीका अनुसार ६ सय ७ घर पहिरोको उच्च जोखिममा परेका छन् । विपद्मा परेका नागरिकहरुलाई सरकारी तथा गैरसरकारी निकायहरुले सहयोग प्रदान गरिरहनुभएको अध्यक्ष शाहीले बताए । ‘पहिरोका कारण विस्थापित नागरिकहरुलाई एकिकृत बस्ती विकास गर्न सात स्थानलाई पहिचान गरेका छौ,’ अध्यक्ष शाहीले भने,’अब तत्कालै प्रारम्भिक अध्ययन थाल्छौं।’ अध्यक्ष शाहीले बस्ती विकासका लागि सहयोग गर्न सहकारी दाताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया