राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

राउटे बालबालिकाले मनाए राष्ट्रिय बाल दिवस

दैलेख भदाै २९ गते । आज राष्ट्रिय बाल दिवस । ‘विपद्मा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने मुल नाराका देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । कोरोना भाइरसका कारण भौतिक उपस्थितीमा दिवस मनाउन सक्ने अवस्था नभएपनि भर्चुअल माध्ययमबाट दिवस मनाईएको छ । यसैक्रममा कर्णाली प्रदेशका दैलेख सुर्खेतका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदायका बालबालिकाले बाल दिवस मनाएका छन् । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने राउटे समुदायका बालबालिकाहरुले पछिल्लो तीन बर्ष देखि बाल दिवस मनाउँदै आएका छन् ।
यस बर्षपनि गुराँस गाउँपालिकाको समन्वय, एईआईएन लक्जेम्वर्गको सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा बालबालिकाहरुले बाल दिवस मनाएका हुन् । आफ्नो हक अधिकारको बारेमा जानकार नभएपनि राउटे समुदायका बालबालिकाहरुले बस्तीमै दिवस मनाएका हुन् । राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–८ धानचौरमा बसोबास गर्दै आएका छन् ।
दिवसका अबसरमा राउटे समुदायका बालबालिका तथा महिलाहरुलाई कपडा तथा सरसफाईका सामग्रीहरु समेत वितरण गरिएको छ । राउटे समुदायका नागरिकहरुले लगाउने कोरा कपडा, छिट लुंगी, छिट चोलो, कपडा धनुे साबुन, नुहाउने साबुन र मास्क लगाएतका सामग्रीहरु प्रदान गरिएको सोसेकका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक सिता रानाले बताइन् । आफुहरु लोपोन्मुख राउटे समुदाय र विशेष गरी महिला र बालबालिकाको अधिकार सुनिश्चित गर्न लागि परेको रानाको भनाई थियो ।
दिवसका अबसरमा बस्तीमै रमाएका राउटे बालक दिपक शाहीले आफुहरुलाई आफ्ना अधिकारबारे जानकारी नभएको बताए । अधिकारबारे जानकार नभएपनि बाल दिवसमा रमाउन पाउँदा खुसी लागेको उनको भनाई छ । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले आफुहरु विस्तारै परिवर्तन हुँदै जाने बताए । ‘भन्ने बित्तिकै हामी कहाँ परिवर्तन हुन्छ र ? उनले भने ‘विस्तारै विस्तारै हुन्छ ।’ हाल राउटे समुदायको जनसंख्या एक सय ५० जना छ । ती मध्ये ७४ जना बालबालिका छन् ।

को हुन् राउटे ?
राउटे जाति दक्षिण एशियाको एक मात्र भ्रमणशील र फिरन्ते जाती हो । आफूलाई वनको राजा भन्न रुचाउने राउटे नेपालको नागरिक हौं भनेर गाथा गाउँछन् । कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटे समुदाय स्वार्थ विहीन छन् । नेपालको नागरिकता नलिएपनि नेपाली नागरिक हौं भनेर गौरव गर्छन । फिरन्ते जाति राउटे समुदायहरुको जीवनशैली सुधारका लागि सरकारी तथा गैरसरकारी निकायले हदैसम्म प्रयास पनि गरिरहेको छ । उनिहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहेपनि उनिहरु एकै ठाउँ बस्न अस्विकार गर्दै आएका छन् । समुदायको महाशत्रु हुन, स्थायी बसोबास, लेखपढ र खेतीपाती । राउटे समुदायका प्रत्येक व्यक्तीहरुलाई सरकारले मासिक भत्ताको व्यवस्था पनि गरेको छ । आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको छ ।

तस्विरहरू :

प्रतिक्रिया