खुल्न थाले दैलेखका विद्यालय

खुल्न थाले दैलेखका विद्यालय

हिक्मतबहादुर नेपाली
दैलेख असोज १ गते ।
कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित पारेको क्षेत्रमध्ये शिक्षा पनि हो। विद्यार्थीहरु चैत्र देखि विद्यालय जानबाट बञ्चित भई घरमै बस्न बाध्य छन्। विद्यालयको हकमा बैशाख देखि नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत चैत्र पहिलो साता नै नयाँ शैक्षिक सत्रको भर्ना नलिन आग्रह गरेको थियो। त्यसको दुई महिनापछि जेठ १८ गते कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयको नियमित पठन पाठन सूचारु गर्न मन्त्रालयले बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशीका २०७७ जारी गरेको थियो। सोहि आधारमा गत असार १ गतेदेखि बैकल्पिक सिकाई सञ्चालन भएको भयो।

बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजिकरण कार्यक्रमलाई आधार मान्दै मन्त्रालयले भदौ १९ गते विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ। शिक्षण सिकाई कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्न स्वीकृत भएको निर्देशिकामा असोज १ गतेबाट विद्यार्थीको सिकाई सहजिकरण गर्न गराउन संघ प्रदेश र स्थानीय तहका सबै निकाय र सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको थियो।

सोहि अनुरुप दैलेखका स्थानीय तहहरुले विद्यालय सञ्चालन र पठनपाठन सञ्चालनमा ल्याउन थालेका छन्। कोरोना भाइरसको काररण देखाउँदै चैत्र देखि बन्द रहेका विद्यालय र पठनपाठन गतिविधि सुचारु हुन थालेका हुन्। विद्यार्थी सिकाई सहजिकरण निर्देशिका बमोजिम जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले विद्यार्थीको सिकाई सहजिकरण गर्ने भएको छ। गाउँपालिकाभर २९ वटा सामुदायिक विद्यालय छन्। सबै विद्यालयका विद्यार्थीहरुको सिकाईमा सहजिकरण गरिने गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए। ‘बार तोकेर विद्यार्थीहरुलाई विद्यालयमा बोलाउने, गृहकार्य दिने, गृहकार्य हेर्ने लगाएतका गतिविधि हुन्छ,’ अध्यक्ष मल्लले भने। डुङ्गेश्वर गाउँपालिका–२ स्थित जनकल्याण मावीका प्रधानाध्यापक खगेन्द्रबहादुर शाहीले कक्षा १ देखि १० सम्म बार तोकेर बिहीवारबाट सिकाईमा सहजिकरण गरिने बताए। यता नारायण नगरपालिका–१ दैलेखको नारायण आधारभुत विद्यालयले पनि विद्यालय सञ्चालन गरेर पठन पाठन सुरु गरेको छ ।

यस्तै भगवतीमाई गाउँपालिकाले पनि प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निणर्य गरेको छ। विद्यार्थी संख्याको आधारमा स्वास्थ्यको मापदण्ड अपनाई असोज ४ गते देखि नै प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्माले बताए। गाउँपालिका भित्र ३२ वटा सामुदायिक र एक वटा नीजि विद्यालय छ।  विद्यार्थी सिकाई सहजिकरण निर्देशिकाका आधारमा विद्यालय खुलाउन लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए। सबै विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष र अभिभावकहरु उपस्थित गाउँशिक्षा समितिको बैठकले विद्यालय खोल्ने निणर्य गरेको हो।

‘पीसीआर परीक्षण गर्दा पछिल्लो समय गाउँपाकिामा नयाँ कोरोना संक्रमित भेटिएको छैन,’ अध्यक्ष थापाले भने ‘आवश्यक सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन हुन्छ।’ गाउँपालिकाले सम्पूर्ण विद्यालयलाई स्वास्थ्य तथा सरसफाई सामग्री उपलब्ध गराई विद्यालयको सरसफाईमा सुधार गर्ने जनाएको छ। गाउँपालिका अन्तरगर्तका विद्यालयहरुमा कार्यरत शिक्षकले कर्मचारीहरु (हाल जिल्ला बाहिर रहेका) आफै पीसीआर परीक्षण गरेर विद्यालयमा हाजिर हुनुपर्ने र हरेक हप्ता विद्यार्थीहरुको स्वास्थ्य जाँच गरिने गाउँपालिकाले जनाएको छ। 

प्रतिक्रिया