न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग छलफल

न्यायमा पहुँच बढाउन मिडियाकर्मीसँग छलफल

सुर्खेत असोज १३ । समाजमा विद्यमान लैंगिक हिंसा, जातिय विभेद तथा बलात्कार र हत्या जस्ता विभिन्न अपराधिक घटनामा पीडित पक्षले न्याय नपाएको प्रशंग पटक–पटक चर्चामा आउने गरेका छन् । यस्ता घटनामा अधिकांश पीडित पक्षले वर्षौसम्म न्यायको लडाइँ लडिरहेको प्रशस्त उदाहरणहरु छन् । तर पीडित पक्षले न्याय माग्दा मेलमिलापको नाममा कतिपय बिचौलीयाले घटना ढाकछोप गर्ने प्रयास गरिरहेका हुन्छन् । कतिपयले न्याय माग्ने प्रक्रिया थाहा नपाएर वा उनीहरुलाई न्यायको ढोकासम्म पुग्न नदिएकै कारण पीडित पक्षले सँधै पीडा भोगेर बस्नुपर्ने अवस्था छ ।
कर्णालीमा अधिकांश ग्रामिण भेगका नागरिकले न्यायका लागि कानुनी प्रक्रिया थाहा पाएका छैनन् । बलात्कार, घरेलु हिंसा जस्ता घटनामा कतिपयले तत्काल न्याय पाएपनि भविष्यमा असुरक्षित महशुस गरेर पीडकलाई उम्काउने काम भइरहेको छ । यसैबिच विभिन्न हिंसा पीडितलाई न्यायको ढोकासम्म पुग्न सघाउने र उनीहरुलाई संविधान तथा कानुनी प्रक्रियाबारे जानकारी दिन ‘न्यायमा पहुँच परियोजना’ सञ्चालनमा आएको छ ।
युएनडिपीको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले महिला, सिमान्तकृत वर्ग तथा गरिबलाई संविधान तथा कानुनी प्रक्रियाको बारेमा सचेतना फैलाउने ध्येयले संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजना सञ्चालन गरेको हो । उक्त परियोजना अन्तर्गत न्यायमा पहुँच बढाउन सुर्खेतस्थित मिडियाकर्मीसँग छलफल गरिएको छ ।
मंगलबार वीरेन्द्रनगरमा सम्पन्न मिडियासँग सहकार्य तथा परियोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रमका अवसरमा न्यायमा पहुँच परियोजनाले पत्रकारसँग छलफल गरेको हो । छलफलका क्रममा न्यायमा पहुँच बृद्धि गर्न एकजुट भएर पीडितको पक्षमा लड्ने प्रतिबद्धता पनि जनाईएको छ । कार्यक्रममा पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले न्याय माग्ने भन्दा दिने निकाय चनाखो नहुदाँ पीडितले न्यायको ढोका ढकढक्याउन नसकेको बताए । कार्यक्रममा परियोजना संयोजक सर्वराज जोशीले न्यायमा पहुँच परियोजनाबारे प्रस्तुतिकरण गरेका थिए । न्यायमा पहुँच परियोजना हाल कालिकोट, दैलेख, सुर्खेत र सल्यानका दुई÷दुईवटा स्थानीय तहमा काम गरिरहेको छ ।

प्रतिक्रिया