दाङ राजधानी प्रस्तावको विरोधमा प्रदर्शन

दाङ राजधानी प्रस्तावको विरोधमा प्रदर्शन

बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन भएको छ। नेपाली कांग्रेसका भातृ संगठनले बुटवल सैनामैनामा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला बुटवललाई तोकिएको अस्थायी राजधानी सारिएको भन्दै कांग्रेसले विरोध गरेको छ। बुटवलको मिलनचोकमा टायर बालेर प्रदर्शन गरिएको छ। प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालय आसपासमा समेत विरोध भएको थियो।

नेपाली कांग्रेस सैनामैनाले पूर्वपश्चिम राजमार्गमा टायर बालेर विरोध गरेको छ। राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै कांग्रेसले सार्ने प्रस्तावको विरोध गरेको छ। प्रदेश संसदीय दलको बैठक भने अहिले जारी छ। संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठक चलिरहेको र बैठकले निर्णय लिने उनले बताए। प्रदेश सरकारले शुक्रबार दिउँसोको प्रदेशसभा बैठकमा राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको छ।

प्रतिक्रिया