जहाँ छौं, त्यही दशैं मनाऔं

जहाँ छौं, त्यही दशैं मनाऔं

काठमाडौं असाेज १८ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारले कोरोना संकट चुलिँदै गर्दा सर्वसाधरणलाई जहाँ बसेको छ त्यहीँ यो वर्षको दशैं मनाउन आग्रह गरेको हाे। संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला दशैँ मनाउन घर जाने तयारीमा रहेकाहरुलाई सरकारले यस्तो आग्रह गरेको हो। 

प्रवक्ता डा. गौतमले आइतवारको नियमित मिडिया ब्रिफिङमा ओहोरदोहर गर्दा कोरोना गाउँ गाउँ पुग्ने बताउँदै यस्तो आग्रह गरेका हुन्।  ‘कोरोना संकट गहिरिँदो छ, त्यसैले यो वर्षको दशैं जहाँ बसेका छौं, त्यहीँ रहेर मनाऔँ’, उनले भने, ‘यो सबैलाई आग्रह हो। यस पटकको दशैंमा घर जान बल नगरौं।’ उनले सरकारले स्वास्थ्य मापदण्ड पालनाका लागि अनुनयविनय गरिरहेको बताउँदै लापरवाही नगर्न आग्रह गरे। ‘हामीले अनुनय विनय गरिरहेका छौं।

जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिरहेका छौं’, उनले भने, ‘धेरैले हाम्रो आग्रह मान्नु भएको छ। हामीले पटक पटक साबुन पानीले हात धुनुस् भनेका छौं। सरकारी मापदण्ड पालना गरिदिनुस्।’ उनले अब स्वास्थ्यको मापदण्ड पालना नगर्नेलाई जरिवान गराउने बताए। मास्क नलगाउने तथा अन्य मापदण्ड पालना नगर्नेलाई अबदेखि जरिवानाको व्यवस्था पनि गरिरहेकाो गौतमले बताए।

प्रतिक्रिया