कुमालखाडालाई नमुना गाउँ बनाईदै

कुमालखाडालाई नमुना गाउँ बनाईदै

हिक्मतबहादुर नेपाली
दैलेख असोज २६ गते ।
आठबीस नगरपालिका–३ कुमालखाडा गाउँ कर्णाली नदी किनारको छेउमै रहेको बस्ती हो । यो बस्ती हुँदै कर्णाली राजमार्ग जोडिएको छ । तर, यहाँका नागरिक गरिबी, विपन्नता र पछौटेपन भोगिरहेका छन् ।

झण्डै एक दशक अघिसम्म यहाँ एचआइभी संक्रमितको कहालीलाग्दो अवस्था थियो । केही एचआइभी संक्रमितले ज्यान गुमाइसके । केही नियमित औषधि सेवन गरेर दैनिकी गुजारिरहेका छन् ।  हाल रोग, भोक, गरिबी, विपन्नता र पछौटेपनले पिल्सिएको यो गाउँको मुहार फेर्ने अभियानको थालनी भएको छ । अचेल यो गाउँकी नानीदेवी शाहीको दिनचर्या बारीमै बित्ने गर्छ । 

हाल उनको बारीमा लगाएको तरकारी खेतीको स्याहार सुसारमै समय बित्छ। उनी टमाटर, आलुलगायतका तरकारी गोडमेल र पानी हाल्न व्यस्त हुन्छिन् । मल, जल राम्रो भयो भने तरकारी उत्पादन बढ्छ भन्ने उनले बुझेकी छिन् । ‘चर्को घाम नभनेर तरकारी खेतीको स्याहार सुसार गरिरहेको छु, ‘नानीदेवी भन्छिन्, ‘यत्तिको दु:ख गरे उत्पादन बढ्छ र आम्दानी हुन्छ भन्ने लाग्छ ।’

नानीदेवी जस्तै कुमालखाडाकै अन्य ३० जना किसानहरु तरकारी खेतीमा जुटेका छन् । पोली हाउस निर्माण गर्ने, तरकारीको बेर्ना उमार्ने, बीउ लगाउने र स्याहरसुसार गरेर बिरुवा राम्रोसँग हुर्काउन  यहाँका किसानहरु जुटेका हुन् । 

यति मात्रै होइन यहाँ भकारो सुधार गरी मल मुत्र व्यवस्थापन गर्नको लागि भकारो सुधार कार्यक्रम समेत लागू गरिएको छ । डिसीए नेपालको सहयोगमा सोसेकद्धारा सञ्चालित साकार परियोजनाले यो गाउँलाई नमुना गाउँ बनाउने अभियान थालेको हो ।

संस्थाले यहाँका ३० घरका किसानलाई तरकारीको बीउ, प्रति किसान एक वटा पोली हाउस, सरल थोपा सिंचाई, गार्डेन पाइप, ५० लिटरको पलाष्टिक ड्रम, पलाष्टिक पोखरी निर्माण र खेतीका लागि आवश्यक औजारहरु सहयोग उपलब्ध गराएको छ । किसानलाई गहुँको बीउ समेत दिइएको संस्थाले जनाएको छ ।  झण्डै ८ लाख ८५ हजारको लागतमा यहाँ दुई वटा सिंचाई प्रविधि निर्माण कार्य सुरु भएको छ । पाइप लाइन मार्फत पलाष्टिक पोखरी निर्माण गरी उक्त पोखरीमा पानी जम्मा गरेर तरकारी खेतीका लागि सिंचाई सुविधा पुर्याइनेछ ।

यस्तै सिंचाई कुलो समेत निर्माण गरिने संस्थाले जनाएको छ । एकिकृत उत्पादन मार्फत गाउँलाई नमूना गाउँ बनाउन लागिएको संस्थाका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले बताए । कृषि र पशुपालनसँग सम्बन्धित रहेर व्यवस्थित कृषि तथा पशुपालन तथा सरसफाई युक्त गाउँ निर्माण गरिने श्रेष्ठले बताए । ‘हामीले अर्गानिक उत्पादनमा जोड दिएका छौं, ‘श्रेष्ठले भने, ‘तरकारीमा गाईभैंसीको मल प्रयोग हुनेछ ।’

संस्थाले तरकारी खेती व्यवस्थापनदेखि बजारीकरणसम्म किसानलाई सहयोग गर्ने श्रेष्ठले जनाए । किसानहरुले तरकारी खेती मात्र नभई भाँडा माझ्ने ठाउँ, भाँडा सुकाउने चाङ निर्माण गर्नेछन् । सिंचाईको समस्या भएको यो गाउँमा सिंचाई व्यवस्थापन गरिने संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा बताउँछन् । ‘एकिकृत विकास गरेर कुमालखाडा गाउँलाई नमुना गाउँ बनाउने कार्य सुरु गरेका छौं,’थापाले भने, ‘नमुना गाउँमार्फत भविष्यमा पर्यटन प्रर्वद्धनमा समेत टेवा पुगोस् भन्ने हाम्रो अपेक्षा हो ।’

तस्विरहरु :

प्रतिक्रिया