कर्णालीका मुख्यमन्‍त्रीलाई माधव समूहकाे साथ

कर्णालीका मुख्यमन्‍त्रीलाई माधव समूहकाे साथ

सुर्खेत असाेज २७ गते । कर्णालीमा तत्कालका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्ता संकटमा राहत मिलेको छ । मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रस्तावबाट पछाडि हटेका छन् । योसँगै मुख्यमन्त्रीको पद तत्कालका लागि जोगिएको उनको सचिवालयले जनाएको छ ।

आफू सुरक्षित रहेको सन्देश दिन मुख्यमन्त्री शाहीले मंगलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कुनै पनि हालतमा मिल्न दबाब दिएपछि दुई पक्षबीच वीरेन्द्रनगरमा सोमबारबाटै छलफल चलेको थियो । अन्ततः मंगलबार नेपाल पक्षलाई तीन मन्त्री र सचेतक दिन मुख्यमन्त्री तयार भएपछि सहमति जुटेको बताइएको छ ।अविश्वासको प्रस्तावमा छलफल गर्न मंगलबार दिउँसो १ बजे बैठक डाकिएको थियो । तर, हस्ताक्षर गरेका नेपाल पक्षका सांसदहरु उपस्थित नभएपछि उक्त बैठक नै प्रभावित भएको छ । पदीय भागबन्डा मिलेपछि नेपाल पक्षका सांसदहरु पछाडि हटेका हुन् । योसँगै मुख्यमन्त्रीलाई तत्कालका लागि राहत मिलेको छ । 

स्रोतका अनुसार मंगलबार नै नेपाल पक्षले मन्त्रीका लागि मगुका सांसद चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार चाँडै मन्त्री नियुक्त गर्ने तयारी छ ।अविश्वासको प्रस्तावमा नेपाल समूहका सात जनाले हस्ताक्षर गरेका थिए । केन्द्रको दबाब र प्रदेशमा भागबन्डा मिलेपछि आफूहरु पछाडि हटेको नेपाल पक्षका एक सांसदले बताए । यो सहमति कार्यान्वयन भएमा कर्णालीमा नेपाल समूहका चार जना मन्त्री हुनेछन् । 

अहिले नेपाल पक्षमा प्रकाश ज्वाला आर्थिक मामिलामन्त्री छन् । यता नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नभएपछि अविश्वासको प्रस्ताव दर्ता गराएको पक्ष भने आन्तिरिक छलफलमै रहेको छ ।  ४० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाका ३३ जना सांसद छन् । जसमध्ये अध्यक्ष केपी ओली पक्षका १२, प्रचण्ड पक्षका १३ र नेता नेपाल पक्षका आठ जना सांसद छन् ।   

प्रतिक्रिया