विश्व खाद्य दिवसमा विद्यालयलाई खाद्यान्न

विश्व खाद्य दिवसमा विद्यालयलाई खाद्यान्न

दैलेख असाेज ३० गते । ४० औँ विश्व खाद्य दिवसका अबसरमा विद्यालयलाई खाद्यान्न वितरण गरिएको छ । ‘हाम्रो पहलः दिगो कृषि, पोसिलो आहार’ भन्ने मुल नारा सहित विश्व खाद्य दिवसको अबसरमा आयोजित कार्यक्रम खाद्यान्न प्रदान गरिएको हो । दुल्लु नगरपालिका–१० गमौडी नाविस्थानमा सञ्चालित पञ्चकोशी वेद विद्याश्रम (धार्मीक विद्यालय) लाई खाद्यान्न वितरण गरिएको हो । उक्त विद्यालयमा हाल २५ जना विद्यार्थी अध्ययनरत छन् ।
जिल्ला कृषि विकास कार्यालय दैलेखले खाद्यान्न उपलब्ध गराएको हो । दिवसका अबसरमा १० बोरा चामल, दाल, तेल प्रदान गरिएको कार्यालयका निमित्त प्रमुख तिलकप्रसाद पाण्डेले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु खाद्य संकटमा रहेको जानकारी पाएपछि खाद्यान्न प्रदान गरिएको पाण्डेको भनाई छ । जिल्ला कृषि विकास कार्यालय दैलेखको आयोजना तथा नारायण नगरपालिका, दुल्लु नगरपालिका, भैरबी गाउँपालिकाको सह–आयोजनामा भएको नाविस्थानमा भएको कार्यक्रममा खाद्यान्न वितरण गरिएको हो ।
खाद्यान्न वितरणको अबसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापा, दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी, पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमबहादुर विष्ट, गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्री लगाएत सहभागि थिए ।


यसैबिच नेपालभर दिगो कृषि, पोषिलो आहारको मर्ममा आधारित रहेर ४० औँ विश्व खाद्य दिवस, यो वर्ष पनि धुमधामका साथ मनाइएको छ । सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिनलाई खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।
यो निर्णयसँगै सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आएको छ । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो । नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

प्रतिक्रिया