कर्णालीमा ९ जिल्लामा आईसीयू र भेन्टिलेटर

कर्णालीमा ९ जिल्लामा आईसीयू र भेन्टिलेटर

सुर्खेत कात्तिक २ गते । कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो ६ महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्यस्तर सुधार र संरचनामा मात्र ३० करोड ५१ लख रुपैयाँ खर्च गरेको छ । डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरिएको छ । चैतसम्म कर्णालीका सुर्खेत, जुम्ला र दैलेखमा गरेर १७ आईसीयू र ७ भेन्टिलेटर थिए । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले आईसीयूको संख्या ६२ र भेन्टिलेटरको संख्या २६ पुगेको छ । कोरोना संक्रमितको लागि २ हजार ९८ वटा आइसोलेसन बेड बनेका छन् । ‘संरचना र स्तरियताको हिसाबले कर्णालीको स्वास्थ्य क्षेत्र पहिल्यैदेखि निकै कमजोर रहेको छ,’ सामाजिक विकासमन्त्री दल रावल भन्छन्, ‘यस्तो अवस्थामा कोरोना जोखिम भित्रिएपछि सरकारले सावधानीसाथ स्वास्थ्यस्तर सुधारमा प्रगति गरेको छ ।’ कोरोनाकालमा दीर्घकालीन महत्वका स्वास्थ्य संरचना तयार भएका उनले बताए । डोल्पामा समेत निकट भविष्यमै आईसीयू सुरु गर्ने मन्त्रालयको तयारी छ ।

कोरोना प्रतिकार्यका लागि पूर्वाधार खरिदमा प्रदेशका १७ अस्पताललाई संघ र प्रदेश सरकारबाट झण्डै ३० करोड ५९ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश अस्पताललाई १० करोड ५७ लाख, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ करोड २५ लाख, चौरजहारी सामुदायिक अस्पताललाई १ करोड ५० लाख उपलब्ध गराएको छ ।

जिल्लास्थित जनस्वास्थ्य तथा स्वास्थ्य सेवा कार्यालयमध्ये सुर्खेतलाई १ करोड २६ लाख, दैलेखलाई १ करोड ९५ लाख, कालीकोटलाई ४३ लाख, जुम्लालाई ४३ लाख, हुम्लालाई ७१ लाख, मुगुलाई ८७ लाख र डोल्पालाई ५५ लाख रुपैयाँ दिइएको मन्त्रालयका तथ्यांक अधिकृत विनोद आचार्यले बताए । उनका अनुसार जाजरकोटले १ करोड ९६ लाख, सल्यानले १ करोड ३३ लाख, रुकुम पश्चिमले १ करोड ८० लाख र सुर्खेतस्थित मेहलकुना अस्पतालले ९५ लाख रुपैयाँ पाएका छन् ।

प्रदेश सरकारले औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयलाई १ करोड ७९ लाख, प्रदेश आयुर्वेद औषधालयलाई ७ लाख २० हजार र सामाजिक विकास मन्त्रालयलाई ३ लाख ५५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सोही बजेटबाट आईसीयू र भेन्टिलेटरलगायतका अत्यावश्यकीय उपकरणहरु खरिद गरिएका आचार्यले बताए ।

अहिले प्रदेशभरि २७ वटा क्षेत्रमा विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । जिल्ला अस्पतालसहित १० जिल्लाका २७ वटा स्वास्थ्यसंस्थालाई रणनीतिक अस्पतालका रुपमा अगाडि सारिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकता दिँदै प्रदेश अस्पतालमा २ सय आइसोलेसन बेड, ४० सघन उपचार कक्ष (आईसीयू) र २० भेन्टिलेटरसहितका विशेष सघन उपचार कक्ष बनाइने उल्लेख गरेको छ ।

हरेक जिल्ला अस्पतालमा कम्तिमा ५० आइसोलेसन बेड, १० आईसीयू र ५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष बनाउने योजना अगाडि सारिएको हो । सबै जिल्ला अस्पताललाई विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्तरोन्नति गर्न डोल्पा जिल्ला अस्पतालको भवन निर्माणका लागि १० करोडसहित अन्य जिल्ला अस्पतालको पूर्वाधार विकासका लागि २२ करोड रुपैयाँ विनियोजन गरिएको आचार्यले बताए ।

यसैगरी कर्णाली राजमार्गमा सडक दुर्घटनामा पर्ने जनतालाई लक्षित गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा राकम कर्णालीमा ट्रमा अस्पताल स्थापना गर्न १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । साविकको कर्णाली बाहेकका ५ जिल्ला हेरिरहेको सहरी तथा भवन निर्माण विभाग, सुर्खेतमार्फत गत आर्थिक वर्षमा १९ वटा स्वास्थ्य चौकीको भवन निर्माण भएको कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यले बताए । उनका अनुसार ४३ वटा स्वास्थ्यका विभिन्न भवनमध्ये २४ वटा भवन निर्माणाधीन छन् । सबै भवनको निर्माण चालु आर्थिक वर्षभित्र हुने उनले जानकारी दिए । कान्तिपुर

प्रतिक्रिया