सामुहिक आलु खेतीमा दलित समुदाय

सामुहिक आलु खेतीमा दलित समुदाय

?

ज्वाला सन्देश संवाददाता
दैलेख कात्तिक ३ गते ।

जिल्लाको दुल्लु नगरपालिका–९ का दलित समुदायले सामुहिक आलु खेती सुरु गरेका छन् । परम्परागत रुपमा गरिने खेती प्रणालीमा निर्भर यहाँका दलित समुदाय सामुहिक आलु खेतीमा आबद्ध भएका हुन् । उनिहरु समुहमा आबद्ध भएर व्यवसायिक रुपमा सामुहिक आलु खेतीमा लागेका हुन् । यहाँका २२ जना किसानहरुले झण्डै १६ रोपनी क्षेत्रफल जग्गामा सामुहिक आलु खेती सुरु गरेका हुन् । स्थानीय माईमालिका दलित कृषि तथा पशुपालन सहकारी संस्थाका अध्यक्ष रामबहादुर सुनारका अनुसार सहकारीका ३७ जना किसानहरुले आलु खेती सुरु गरेका छन् । ‘२२ जनाले सामुहिक रुपमा खेती सुरु गरेका छन्,’ सुनारले भने ‘१५ जनाले व्यक्तिगत रुपमा खेती सुरु गरेका छन् ।’ गाउँमै सामुहिक खेती सुरु गरेर सामुहिक व्यवसायबाट भएको आम्दानीले जीविकोपार्जनमा सहयोग पुग्ने सहकारीका सचिव गोपाल सुनारले बताए ।


तरकारी खेती सुरु गरेका किसानहरुलाई यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा सञ्चालित जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजनाले आलुको बीउ सहयोग गरेको थियो । माईमालिका दलित कृषि तथा पशुपालन सहकारी संस्थामा १५ क्विन्टल, पिपलचौतारा ताजा तरकारी तथा फलफूल उत्पादन कृषि समुह र पञ्चकोशी ज्वाला ताजा तरकारी तथा फलफूल कृषि समुहमा ५ क्विन्टल आलुको बीउ उपलब्ध गराएको परियोजनाका कृषि प्राविधिक संगम विष्टले जानकारी दिइन् । परियोजनाले व्यवसायिक रुपमा आलु खेतीका लागि २० क्विन्टल आलुको बीउ वितरण गरेको कृषि प्राविधिक विष्टले बताइन् । परियोजना र दुल्लु नगरपालिकाको कृषि शाखा मार्फत किसानहरुलाई प्राविधिक सहयोग समेत उपलब्ध गराईएको छ ।
विपन्न दलित समुदायलाई छनौट गरेर आलुको बीउ दिईएको परियोजनाका लोकेन्द्र पौडेलले बताए । ‘दलित समुदायका किसानहरुलाई मात्रै आलुको बीउ सहयोग उपलब्ध गराएका छौ,’ पौडेलले भने ‘दलित समुदायलाई व्यवसायिक बनाउने र भारत जाने युवाहरुलाई गाउँमै रोकेर व्यवसायमा आकर्षित गराई जीविकोपार्जनमा सहयोग पु¥याउन लागिएको हो ।’ परियोजनाले दुल्लु नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर काम गरिरहेको पौडेलको भनाई छ । किसानहरुले उत्पादन गरेको आलु बजारिकरणमा परियोजनाले समन्वय गर्नेछ ।

प्रतिक्रिया