दैलेखमा आंशिक सिल

दैलेखमा आंशिक सिल

दैलेख कात्तिक ३ गते ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि दैलेख सदरमुकाममा आंशिक सिल जारी गरिएको छ । जिल्ला सदरमुकाम स्थित नारायण नगरपालिका र अन्य स्थानीय तहमा समेत संक्रमणको दर बढ्दै गएपछि स्थानीय प्रशासनले आंशिक सिल जारी गरेको हो । कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सोमवार बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र जिल्ला स्तरिय संरचना सर्वपक्षिय, सर्वदलिय बैठकले उक्त निणर्य गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी सूचनामा जिल्ला सदरमुकाम दैलेख बजार क्षेत्रको सरस्वती मावी तर्ताङ देखि कलेल चोक भैसेखोरसम्म लागु हुने गरी दैनिक उपभोग्य बस्तुहरु लगाएतको अत्यावश्यक बस्तु तथा सेवा प्रवाह गर्ने व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, इन्धन, दुग्ध डेरी, औषधी पसल र एग्रोभेट बाहेकका सम्पूर्ण पेशा तथा व्यवसायहरु तत्कालका लागि बन्द गर्न भनिएको छ । दैनिक उपभोग्य बस्तुहरु लगाएतको अत्यावश्यक बस्तु तथा सेवा प्रवाह गर्ने व्यवसाय खाद्यान्न, तरकारी, फलफूल, दुग्ध डेरी व्यवसायहरु विहान ७ बजे देखि ११ बजेसम्मका लागि मात्र सञ्चालन गर्न पाइनेछ । इन्धन, औषधी पसल र एग्रोभेट व्यवसाय भने नियमित सञ्चालन गर्न पाइनेछ ।
जिल्ला स्थित सरकारी, संस्थान, संघसंस्था, बैंक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भएको भन्दै स्थानीय प्रशासनले मंगलवार देखि कात्तिक १५ गते कोजाग्रत पुर्णाीमासम्म अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सार्वजनिक सेवा बन्द गर्न निर्देशन दिएको छ । यो अवधीमा सञ्चालनमा रहने पेशा तथा व्यवसाय र सेवाहरु र जिल्लास्थित नीजि, सरकारी र सार्वजनिक सवारी यातायात सञ्चालनका क्रममा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डहरु कडाईका साथ पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ । यस्तै दैलेख सदरमुकामको बजार क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह र अन्य स्थानीय तहबाट दैलेख बजारमा अत्यावश्यक काम बाहेक आवागमन पूर्ण रुपमा निशेष गर्ने सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासनले तोकेको विपरितका कार्यहरु भएको पाईएमा संक्रामण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । जिल्लामा हाल कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५३ पुगेको छ । ती मध्ये एक हजार दुई सय २० जना संक्रमित निको भई डिस्चार्ज भईसकेका छन् । जिल्लामा कोरोना संक्रमणका कारण चार जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया